प्रदेशसभातर्फ काठमाडौँ २ बाट अशोक खड्काको स्वतन्त्र उम्मेदवारी घोषणा

तेक्वान्दोकर्मी अशोक खड्काले शनिवार प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । तेक्वान्दोमा अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता तथा प्रशिक्षक र अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री खड्काले काठमाडौँको थलीमा एक कार्यक्रम गरेर काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले उम्मेदवारी घोषणा कार्यक्रममा युवा पुस्तालाई अब देश विकासको नेतृत्व सुम्पनुपर्ने आह्वान गरे । खड्काले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नका लागि शिक्षा, स्वास्थ्य लगायत कुरामा आफ्नो विशेष ध्यान रहने र यसका लागि स्थानीय जनताले आफूलाई प्रदेशसभा चुनावमा मतदान गर्नेमा पनि आफू आशावादी रहेको भनाई राखे ।
‘भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्दछ ।  विधि र  कानुनको उच्चतम सम्मान गर्नुपर्दछ,’ आफ्नो उम्मेदवारी

घोषणा सभामा खड्काले भने, ‘प्रत्येक नागरिक राष्ट्र सेवामा समर्पित हुनु पर्दछ भन्ने कुरा मेरो हृदयमा छ ।’
सो कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता कार्यकर्तादेखि स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, खेलाडी लगायत सरोकारवालाले पनि स्वतन्त्र उम्मेदवार खड्कालाई सहयोग गर्ने विश्वास दिएका छन् ।

उनले आफू स्पष्ट योजनाका साथ राजनीतिमा आएको भन्दै जनताले चुनावमा मतदान गर्ने विश्वास पनि व्यक्त गरे । ‘म लामो समयदेखि खेल क्षेत्रबाट परिचित हुँदै देशको नाम विश्वभर चिनाएर अब आफ्नै क्षेत्रमा नीति निर्माण र विकासको काम गर्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु । मसँग विकास र युवा पुस्ताको नेतृत्व गर्ने स्पष्ट भिजन छ । त्यसैले तपाइहरूबाट निर्वाचित हुने अपेक्षा राखेको छु– खड्काले भने ।
सो कार्यक्रममा विभिन्न खेल क्षेत्रका व्यक्तित्व, रेफ्री, खेलाडी, स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता, टोल समाजका अगुवा लगायतका सयौँ व्यक्तित्वको सहभागिता रहेको थियो ।

Comment