अध्यक्षमा चन्दको उम्मेदवारी घोषणा

जितेन्द्र बहादुर चन्दले नेपाल भलिबल सङ्घको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
कान्तिपथस्थित होटेल यलोपगोडामा अध्यक्ष मनोरञ्जन शर्मा, भलिबल सङ्घका विगतका नेतृत्व, आफ्नो समयका चर्चित एवं सम्मानित पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरू, विभिन्न भलिबल क्लबका तथा जिल्ला प्रतिनिधिहरू, खेलाडीहरू तथा पदाधिकारीहरूका बिच चन्दले उम्मेदवारी घोषणा गरेका हुन् । सङ्घको चुनावी साधारण बुधवार हुने छ  ।
२०४५ साल देखि भलिबल खेलाडी रहेको चन्द लामो समय राष्ट्रिय टोलीको क्याम्पमा पनि रहेका थिए । उनी  विगत १० वर्ष देखि महासचिव छन् ।
उनले घोषणा सभामा आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए । यसमा नेपालमा अन्तर्राष्ट्रिय स्तरको कभर्ड हलको निर्माण प्रमुख थियो । चन्दले मनोरञ्जन रमण शर्माको वर्तमान कार्यकाल स्वर्णिम भन्दै यसले पुरा गर्न बाँकी रहेका कामको निरन्तरताका लागि उम्मेदवारी दिएको बताए ।
सोही कार्यक्रममा सङ्घका सदस्य रोशन श्रेष्ठले महासचिवमा उम्मेदवारीको घोषणा गर्दै चन्दको नयाँ कार्यसमितिमा रहेर काम गर्ने आफ्नो मनोकाङ्क्षा रहेको बताए ।
पूर्व राष्ट्रिय  खेलाडी तथा प्रहरी अधिकृत दुर्ज कुमार राई र रमेश खरेलका साथमा राष्ट्रिय टोलीका पर्व कप्तान, भरत शाह , वर्तमान कप्तान इम राना मगर,सङ्घ अध्यक्ष शर्मा उपाध्यक्ष याम गुरुङ, उपाध्यक्ष हर्क सिंह धामी, कोशाध्यक्ष सुन केसरी माली तथा  सदस्य इन्दिरा निरौला  र  जुनु पुन लगायत कार्यक्रममा उपस्थित थिए । उम्मेदवारी घोषणा कार्यक्रममा वर्तमान कार्यसमितिका बहुमत सदस्यको उपस्थिति थियो ।
Comment