चोखाललाई कारबाही नभएको दाबी

नेपाल भलिबल संघले गण्डकी प्रदेशका उप कप्तान तथा म्याग्दी जिल्ला भलिबल कप्तान सुजन चोखाललाई हालसम्म कुनै कारबाही नभएको दाबी सरोकार वालाले गरेका छन् । म्याग्दी जिल्ला भलिबल संघले विज्ञप्ति जारी गर्दै चोखाल माथि कुनै कारबाही भई नसकेको दाबी गरेको हो ।
एनभीए कप राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशबाट प्रतिनिधीत्व गर्दै खेलेका चोखालले रेफ्रि माथि दुर्व्यवहार गरेको भन्दै कारबाही गरेको चर्चा चलेको थियो ।
गण्डकी प्रदेश भलिबल सङ्घका अध्यक्ष नवीन गुरुङले आफूले पाएको जानकारी अनुसार खेलाडीलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडी बढाउने निर्णय भएको हो । यस विषयमा भलिबल संघले प्रेस विज्ञप्ति मार्फत जानकारी नगराएको तथा माइन्युट पनि नभएको गण्डकी प्रदेश भलिबल संघले जनाएको छ । गुरुङले बैठकको सबै निर्णय बारे आफूलाई जानकारी भएको बताउँदै स्पष्टीकरण नै नसोधी कारबाही प्रक्रिया अगाडी नबढेको बताउँदै समाचार सम्प्रेषण गर्न तथा सामाजिक सञ्जालमा प्रस्तुत हुँदा सचेत र सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन् ।
गुरुङले दिएको जानकारी अनुसार छानबिन समितिको प्रतिवेदन पछि स्पष्टीकरण सोध्ने र चित्त बुझ्दो जवाफ नआएमा कारबाही गर्ने निर्णय भएको थियो ।
Comment