विश्वराज सम्मानित


कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलाडी विश्वराज श्रेष्ठलाई सम्मान गरेको छ । विश्वराज कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हुन् ।
अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको डोजाङले जनाएको छ ।
विश्वराजले ब्रिसवेन खुला तेक्वान्दोमा २ स्वर्ण जितेका थिए । उनले क्योरोगीको ६८ केजीमुनि र स्पेशल फाइटमा १–१ स्वर्ण जितेका थिए । त्यस्तै सिड्नी तेक्वान्दो च्याम्पियनसिपमा उनले कांस्य पदक जितेका थिए । दुवै प्रतियोगिता सन् २०१९ मा भएको थियो ।
अध्ययनका सिलसिलामा विश्वराज सन् २०१८ मा अस्ट्रेलिया गएका थिए । त्यही दौरान उनले उक्त प्रतियोगितामा सहभागिता जनाएका हुन् । नेपाल आएका बेला कोटेश्वर तेक्वान्दो डोजाङले विश्वराजलाई सम्मान गरेको हो ।
तेक्वान्दोका मुख्य प्रशिक्षक समेत रहेका कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले विश्वराजलाई दोसल्ला ओढ्याउनुका साथै प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
प्रमुख श्रेष्ठले आफ्ना डोजाङका खेलाडीले गरेको प्रगतिले सिंगो डोजाङ परिवारले गर्वको अनुभूति गरेको बताउदै आगामी दिन अझ सफलताका लागि विश्वराजलाई शुभकामना दिए ।
सम्मानित भएपछि विश्वराजले भने– ‘७ वर्षदेखि तेक्वान्दो खेल्न सुरु गरे । तेक्वान्दोप्रतिको लगाव र मायाले गर्दा चटकै छाड्ना पनि गाह्रो छ । त्यसैले अध्ययनका लागि अस्ट्रेलिया गएपनि मौका पाउन साथ प्रतियोगितामा सहभागी हुन्छु । मेरो सफलताको कदर गर्दै सम्मान गर्नु भएकोमा कोटेश्वर तेक्वान्दो डोजाङलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’ विश्वराजकी आमा लक्ष्मी पनि पूर्व तेक्वान्दो खेलाडी हुन् । बहिनी पनि तेक्वान्दो खेलिरहेकी छन् ।

Comment