नुवाकोटमा उपमेयर कप


नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगार्थमा आयोजित उपमेयर कप तथा सहिद स्मृति छैटौँ राष्ट्रिय हाप्किडो प्रतियोगिताको बेलकोटगढी नगरपालिका कार्यवाहक मेयर कविता ढुङ्गानाले मंगलबार उद्घाटन गरिन् ।
सहभागी आठ टिमका खेलाडीको मार्च पाससँगै कार्यक्रम सुरु भएको थियो । उद्घाटन समारोहमा खेलाडीबाट डेमो प्रदर्शनका साथै सांस्कृतिक कार्यक्रम पनि सञ्चालन भएको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढुङ्गानाले नगरपालिकाले ऐतिहासिक प्रतियोगितालाई सफल तुल्याउन निकै प्राथमिकता दिएर आर्थिक सहयोग गरेको बताइन् । उनले भनिन्,‘ हाप्किडो राष्ट्रिय प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, प्रत्येक प्रदेशबिच एकता र मित्रता पनि हो ।’ आगामी दिनहरूमा हाप्किडो खेलको विकास र विस्तारको लागि सहयोग गरिरहने प्रतिबद्धता गरिन । उनले बेलकोटगढी नगरपालिकाको प्रत्येक स्थानीय स्कुलहरूमा हाप्किडो खेलको प्रशिक्षणलाई अनिवार्य गर्नका लागि सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
कार्यक्रमको विशेष अतिथि नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले मंगलबारदेखि ५ जेठसम्म सञ्चालन हुने प्रतियोगिताको माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको बताए । राष्ट्रिय प्रतियोगिताबाट युवाहरूमा खेलप्रति आकर्षण, शिक्षामा जागरण, चेतनाको विकास, एकताको सन्देश, खेलले सामाजिक रूपान्तरणलाई जोड्न सक्छ र खेलबाट नुवाकोट जिल्लाको पहिचान, खेल पर्यटकको हब बन्ने पनि उनले बताए । अध्यक्ष घर्ती मगरले स्थापनाकाल देखि नै नेपालको ग्रामीण भेगमा बढी भन्दा बढी कार्यक्रम गर्दै आएकोमा जोड दिए  । आगामी असोज महिनामा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको स्थापना दिवसको अवसरमा  दाङ जिल्लामा सातौँ राष्ट्रिय हाप्किडो प्रतियोगिता आयोजना गर्ने उनले बताए । कार्यक्रमको स्वागत मन्तव्य प्रवीण गुरुङले गरेका थिए ।


हाप्किडो राष्ट्रिय प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्त्व र तयारीबारे गुरुङले जानकारी गरे । नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष मनोज लामाको अध्यक्षतामा भएको प्रतियोगितामा विभिन्न सामाजिक संघ संस्थाका व्यक्तित्व हाप्किडो खेल पदाधिकारी, निर्णायक, रेफ्री, प्रशिक्षक, खेलाडी र जनसमुदायको उपस्थिति रहेको थियो ।

Comment