प्रतियोगितामा सङ्घको अनावश्यक हस्तक्षेप 

जेष्ट ब्याडमिन्टन एकेडेमी द्वारा आयोजित ‘योनेक्स सनराईज चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ का सेमिफाइनलसम्मका खेल बुधवार सकिँदै छन् । भव्य रूपले आयोजना भएको प्रतियोगितामा नेपाल भरीका खेलाडीहरूको सहभागिता  छ ।
प्रतियोगितालाई नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोग रहने कुरा यस अघि अध्यक्ष रामजी बहादुर श्रेष्ठले पत्रकार सम्मेलनमा बताए पनि त्यस अनुसार नभएको गुनासो प्रतियोगिता स्थलमा सुनिन थालिएका छन्  ।
नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष, महासचिव र सचिवको प्राविधिक क्षेत्रमा अनावश्यक उपस्थिति रहेको गुनासो पनि  सुनिन थालिएको छ । प्रतियोगिता सञ्चालन गर्न आवश्यक पर्ने ‘ फीक्सट हाइट मेजरिङ डिभाइस’पनि आयोजकलाई उपलब्ध गराइएको छैन । यो डिभाइस सङ्घमा मात्र हुन्छ ।
सङ्घले प्रतियोगिता सञ्चालन गर्न सबै भन्दा अत्यावश्यक ‘ टुर्नामेन्ट सफ्टवेयर’ नै प्रतियोगिता रेफ्री लाई दिएनन् । यस अघि सफ्टवेयर राष्ट्रिय रेफ्रीहरूलाई उपलब्ध गराइने गरिए पनि अहिले सो सफ्टवेयर  महासचिव निकट व्यक्तिलाई दिइने र उनलाई नै सिफारिस गरेर कन्ट्रोलरको रूपमा पठाउने गरिएको छ ।
सो सफ्टवेयर चलाउन जान्ने अन्य तिन जना प्राविधिक पनि छन् । स्मरणीय छ, अन्य धेरै सङ्घको जस्तो ब्याडमिन्टन सङ्घको पनि म्याद गुज्री सकेको छ ।
आफूले प्रतियोगिता आयोजना नगर्ने अरूले आयोजना गरेको प्रतियोगितामा शक्तिको भरमा प्रभाव जमाउन खोज्ने यो शैलीको धेरै ब्याडमिन्टनकर्मी आजित छन्  ।
Comment