एलटीके एथलेटिक्स ट्र्याकको उद्घाटन

 चितवनको देव नगरमा निजी खर्चमा निर्माण गरिएको एथलेटिक्स ट्र्याकको शनिवार उद्घाटन गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले चितवनका स्थायी बासिन्दा देबेन लोहनीले निजी खर्चमा निर्माण गरेको एथलेटिक्सको ट्र्याकको शनिवार उद्घाटन गरेका हुन् ।
देबनगरका स्थायी बासिन्दा लोहनीले करिब ३० लाख रुपैयाँ निजी खर्चमा हबेलीमा २ सय मिटरको एथलेटिक्स ट्र्याकको निर्माण गरेका छन् । करिब ११ बिगाहा क्षेत्रफलमा फैलिएको आफ्नो फार्म हाउसको पोखरीलाई पुरेर उनले एथलेटिक्सको संरचना तयार पारेका हुन् ।
खेलकुद संरचनाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले निजी क्षेत्रको लगानीबाट मात्र खेलकुद विकासको फड्को मार्न सक्ने बताए । उनले खेलकुदलाई पर्यटन, आर्थिक, स्वास्थ्य, राष्ट्रिय गौरव लगायत विविध क्षेत्रसँग जोड्न सकिने उल्लेख गर्दै यसलाई उद्योगको रूपमा विकाश गर्नुपर्ने धारणा राखेका थिए ।
व्यवसायी लोहनले स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले खेलकुदको संरचना निर्माण गरेको बताए । उनले स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ट्र्याकमा आएर अभ्यास र तयारी गर्न सक्ने बताउँदै आफूले必利勁
खेलाडीलाई सक्दो सहयोग गर्ने धारणा राखेका थिए । व्यवसायीक रूपमा चितवनमा लेक ट्वान्टी थाउजेन्ट फार्म एण्ड रिट्रिट सञ्चालन गरेका लोहनीले रिपोर्टभित्र अन्तर्राष्ट्रिय मापदण्डको पौडी पोखरी समेत निर्माण गरेका छन् । खेलकुद र कलालाई पर्यटन गर्न जोड्ने उद्देश्यका साथ आफू अघि बढिरहेको लोहनीको भनाई छ । सो अवसरमा कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलाई सम्मान गरिएको थियो ।
ट्र्याकको उद्घाटन गर्दै देबनगर हबेलीमा दुई दिने एलटीके ट्र्याक एण्ड फिल्ड प्रतियोगिताको सुरुवात समेत गरिएको छ । ट्र्याक एण्ड फिल्डका १४ विधा समावेश गरेर आयोजना गरिएको प्रतियोगितामा देशभरका ३ सय बढी खेलाडी सहभागी छन् । दुई दिनसम्म चल्ने प्रतियोगिताका मुख्य स्पर्धा भने आइतबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ ।

Comment