आशिष नेपाली एथलेटिक्सका नया स्टार

bhumi raisawarasawi bhattaraihari rimaldilmaya karki
एपीएफ क्लबका आशिष चौधरी नेपाली एथलेटिक्सका नया नायकको रुपमा उदाएका छन् । ४० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको पहिलो दिन  शुक्रबार १ सय मिटरमा स्वर्ण पदक जितेका आशिषले शनीबार पुरुष ४ सय मिटर दौडमा स्वर्ण जितेका छन् । उनले ४९.३६ सेकेन्डमा दुरि पुरा पूरा गरेका हुन् । नेपाल आर्मीका हिमाल केसी दोश्रो र मुक्ति खड्का तेश्रो भए ।
महिलाको ४ सय मिटर दौडमा एपीएफकी दिलमाया कार्की पहिलो भइन् । दिलमायाले निर्धारित दूरी तय गर्न १ मिनेट ००.७८ सेकेन्ड समय खर्चिन् । मध्यपश्चिमाञ्चलका तारा मल्ल दोश्रो र तुल्सा खत्री तेश्रो स्थानमा रहे । यस च्याम्पियनसीपकी स्टार बन्ने अपेक्षा गरिएको दिलमाया एक दिन अघि १ सय मिटरमा आफ्नै टोलीकी सरस्वती चौधरीसंग पराजित हुदै दोस्रो स्थानमा सिमित भएकी थिइन् ।
पुरुषको १ हजार ५ सय मिटर दौड ३ मिनेट ५७.०० सेकेन्डमा सकाउदै आर्मीका हरिकुमार रिमालले शीर्ष स्थान कब्जा गरे । आर्मीकै लालबहादुर थापा दोश्रो र मध्यमाञ्चलका हरेराम नेपाल तेश्रो बने । सोही स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई पहिलो भइन् । सरस्वतीले ४ मिनेट ५६.६ सेकेन्ड समय लगाइन् । एपीएफका फुलमति राना दोश्रो र गीता खत्री तेश्रो भए । उनले एक दिन अघि ८ सय मिटरमा स्वर्ण पदक जितेकी थिइन् ।
महिलाको ४ सय मिटर हर्डल्समा एपीएफकी सविता चौधरी १ मिनेट १०.२ सेकेन्डमा पहिलो भइन् । पश्चिमाञ्चलकी शान्ति महतो दोश्रो भइन् । उक्त स्पर्धाको पुरुषमा आर्मीका सागर कार्की ५८.४६ सेकेन्डमा पहिलो भए । आर्मीकै विशेष महतो दोश्रो र प्रहरीका रामप्रित चौधरी तेश्रो भए ।
महिलाको ट्रिपलजम्पमा नेपाल प्रहरीकी केशरी चौधरी पहिलो भइन् । केशरीले १२.०२ मिटर हाम्फालिन् । एपीएफकी शिला चौधरी दोश्रो र पूर्वाञ्चलकी लक्ष्मी श्रेष्ठ तेश्रो भए । त्यसै स्पर्धाको पुरुषमा प्रहरीका चन्द्रदेव जोशी १३.८० मिटर टाढा हाम्फाल्दै पहिलो स्थानमा रहे ।आर्मीका डिल्ली खत्री दोश्रो र पश्चिमाञ्चलका आशिष चौधरी तेश्रो बने ।
डिस्कस थ्रोको पुरुषमा ३४.३५ मिटर फाल्दै आर्मीका राजेन्द्र बस्नेतले पहिलो स्थान हात पारे । आर्मीका बमबहादुर गुरुङ दोश्रो र प्रहरीका पुष्कल खड्का तेश्रो भए । सोही स्पर्धाको महिलामा आर्मीकी अमृता महतो च्याम्पियन बनिन् । अमृताले ३४.१२ मिटर टाढा फालिन् । प्रहरीकी चन्द्रकला लाम्गादे दोश्रो र एपीएफकी जितकुमारी महतो तेश्रो भए ।
फुल म्याराथनको पुरुषमा प्रहरीका भूमिराज राईले बाजी मारे । उनले ४२.१९५ किलोमिटर दूरी २ घण्टा २३ मिनेट ३१ सेकेन्डमा तय गरे । आर्मीका कृष्ण बस्नेत दोश्रो र ज्ञानप्रसाद भट्टराई तेश्रो भए । महिलामा ३ घण्टा २० मिनेट ०९ सेकेन्ड लगाउदै एपीएफकी सोनुजया राई पहिलो भइन् । आर्मीकी सरिता वासी दोश्रो भइन् ।

Comment