पारा तेक्वान्दोमा जर्नाजन यथावत

jd dhungel

नेपाल पारा तेक्वान्दो संघको पहिलो साधारणसभाले जर्नाजन ढुंगेलको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्विरोध चयन गरेको छ । अघिल्लो कार्य समितिमा पनि ढुंगेल नै अध्यक्ष थिए ।
केन्द्रीय कार्यसमितिको उपाध्यक्षत्रयमा देवेश भट्टराई, मोहनकुमार कार्की र भीमसेन केसी, महासचिवमा अच्युतम लामिछाने, सचिवमा लोकेन्द्र आचार्य तथा कोषाध्यक्षमा रमेश शाक्य रहेका छन् । पवनकुमार थापा, भुवनलाल श्रेष्ठ, कल्याण कुँवर, मधु ढुंगेल, सुरिना गुरुङ, राजु ढुंगेल, विष्णुप्रसाद सापकोटा र माधव कोइराला सदस्यमा चयन भए ।
सो अवसरमा नवनिर्वाचित ढुंगेलले प्रमिला सिंह र डिके ढुंगानालाई उपाध्यक्ष तथा हरिबहादुर बुढाथोकी, बुद्धिबहादुर थापा मगर, पारा तेक्वान्दो खेलाडी सीता भण्डारी र पारा तेक्वान्दो खेलाडी हीरामणि अधिकारीलाई सदस्यमा मनोनयन गरिएको घोषणा गरे । अब चार सदस्यको मनोनयन पश्चात केन्द्रीय कार्यसमितिले पूर्णता पाउनेछ । विधानतः पारा तेक्वान्दो संघको केन्द्रीय कार्यसमिति २५ सदस्यीय रहने प्रावधान छ । नव निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधी चार वर्षको हुनेछ ।
नव निर्वाचित र मनोनितहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत संघ संस्था समन्वय शाखाका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत टेकप्रसाद कट्टेलले प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
त्यसअघि राखेप सदस्य–सचिव युवराज लामाले बानेश्वरमा आयोजित एक कार्यक्रमबीच साधारणसभाको उद्घाटन गरेका थिए । सो अवसरमा सदस्य–सचिव लामाले कुनैपनि खेल संघको स्थायित्वका लागि निर्वाचन अनिवार्य भएकोमा जोड दिए ।
साधारणसभामा केन्द्र र विभिन्न १७ जिल्लाका गरी जम्मा ५३ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन अधिकृत नारायणराज अर्यालले जनाएका छन् । पारा तेक्वान्दोमा नेपालले विश्व पारा तेक्वान्दो च्याम्पियनसिपको चौथौं संस्करणमा कांस्य र पाँचौंमा रजत जितिसकेको छ ।

 

Comment