अछामका प्रवीण टमटा विजयी

 खेलकुद प्रवर्द्धन संस्था नेपाल (स्पोन) को आयोजनामा सञ्चालित राष्ट्रव्यापी स्कुल व्वाइज तथा र्गल्स बक्सिङ प्रतियोगिता शनिवार सुरु भयो । शनिवारको खेलमा सफलता पाउँदै पुरुषतर्फको ४३ किलो तौल समूहमा अछामका प्रवीण टमटा र  अल्फाका सोनम पुन मगर सेमिफाइनल प्रवेश गरे ।
३५ किलो तौल समूहमा नक्सालका सक्षम लामा र मकवानपुरका अरुण सापकोटा सेमिफाइनलमा प्रवेश गरेका छन् ।  त्यसै गरी ४० किलो तौल समूहमा थानकोटका प्रकट महर्जनले बक्समाण्डुका सुवास तिरुवालाई पराजित गरेका छन् । ४९ किलो तौल समूहमा कास्कीका आकाश बोहराले दमकका रोशन विकलाई पराजित गरे भने पुरुष ५२ किलो तौल समूहमा भूपू बक्सिङ पोखराका समुन्द्र थापा मगरले मोरङका किर्तिक मास्केलाई अङ्कको आधारमा पराजित गरे । सोही तौल समूहमा बाँकेका योगराज खत्रीले अछामका विनोद नागारजीलाई अङ्कको आधारमा पराजित गरी सेमिफाइनलको यात्रा तय गरेका छन् ।
प्रतियोगितामा  २५ जिल्ला, क्लब तथा स्कुलहरूका १२ वर्ष देखि १४ वर्ष भित्रका पुरुष तथा महिला गरी जम्मा ४८ जना खेलाडीहरूको सहभागिता रहेको छ ।
२०२२ को अप्रिलमा फुकेटमा हुने थाइल्यान्ड ओपन ईन्टरनेशनल बक्सिङ प्रतियोगिताको खुल्ला छनौट खेल अन्तर्गत शनिवार  भएका ४८ किलो तौल समूहमा एचटूओका रविन थापाले झापाका धर्मेन्द्र राईलाई युनानिमस डिसिजनको आधारमा हराए ।
सोही तौल समूहमा बक्समाण्डुका लक्ष्मण राईले ललितपुरका अर्जुन तामाङलाई आरएससीको आधारमा पराजित गरेका थिए । सो कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरे ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सफलताको शुभकामना दिएका थिए । प्रमुख प्रशिक्षक एवम् कार्यक्रम संयोजक प्रकाश थापा मगरको सभापतित्वमा प्रतियोगिता भएको हो । कार्यक्रम संयोजक थापा मगरले स्पोनले नेपाल बक्सिङ सङ्घ सँग सहकार्य गर्दै निरन्तर रूपमा प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा महालक्ष्मी वार्ड नंं. ५ बस्ने लालबहादुर महर्जनलाई बक्सिङ क्षेत्रमा गरेको योगदान स्वरूप सम्मान पनि गरिएको थियो ।
Comment