जो तेन्दुलकर र काम्बली मार्फतमा खेलकुदमा आकर्षित भए 

एउटा समय थियो, मुम्बईको शारदा श्रम विद्या मन्दिर हाइ स्कुलमा भारतीय क्रिकेटका हस्ती सचिन तेन्दुलकर र विनोद काम्बली अध्ययन गर्थे । त्यो सँगै थियो, तुलसी मानस मावि । तुलसी मानसमा अछामका एकेन्द्र कुँवर अध्ययन गर्थे । उनका बाबु केशर सिंह कुँवर कम्पनी चलाएर मुम्बईमा बसोबास गर्दा छोरा एकेन्द्रको बाल्यकाल त्यहीँ बितेको हो । त्यही नजिक रहेको सवाजी पार्कमा सचिन र विनोद पनि क्रिकेट खेल्न पुग्ने, अनि एकेन्द्र पनि पुग्थे ।
नेपाली क्रिकेट अहिलेको जस्तो फराकिलो स्वरूपमा थिएन । तीनै एकेन्द्र काठमाडौँ आए पछि महावीर क्लबमा आबद्ध भएका थिए । अनि लगातार चार वर्ष त्रिभुवन विश्वविद्यालय क्रिकेट टोलीका कप्तान पनि भए ।
हाल सामाजिक अभियन्ता तथा राजनीतिज्ञको रूपमा परिचित एकेन्द्र राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य छन् ।
राजनीतिक रूपमा नेपाल खेलकुद महासङ्घको महाधिवेशन आयोजक कमिटीका सदस्य छन् । यस भन्दा अघि उनी उपाध्यक्ष थिए । त्यसो त उनका लागि खेलकुद महासङ्घको जिम्मेवारी पनि उपयुक्त हुन सक्थ्यो । तर, उनको सोच अलि फरक छ ,‘ मैले सकेसम्म आफ्नै ठाउँमा राम्रो गर्ने प्रयास गरेको छु । यस कारण मेरो कामलाई कसरी हेरिएको छ भनेर पनि म जनताकै माझमा जान चाहन्छु । ’ चुनावी राजनीतिको योजना बारे उनले सुनाए ।
त्यसो त उनको यो दावीका पछाडि केही आधार पनि छन् । सामाजिक अभियन्ताको रूपमा सक्रिय एकेन्द्र सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय छन् । सुदूर पश्चिममा हुने गरेका खप्तड गोल्ड कप लगायत अन्य कुनै पनि खेल स्पर्धामा उनको भूमिका महत्त्वपूर्ण हुने गरेको छ ।
यसका अलावा त्यहाँको सामाजिक गतिविधिमा पनि उनको उपस्थिति महत्त्वपूर्ण हुने गरेको छ ।
भारतमै स्नातकको अध्ययन सकेर नेपाल आएका उनले त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यको जिम्मेवारी पुरा गरेका थिए भने उप सभापति पदमा पराजित भएका थिए ।
हाल उनी एनआरएन स्पोर्ट्स एकेडेमीका सल्लाहकार छन् । साथै खेलकुद महासङ्घको विदेश विभागको प्रमुखको रूपमा समेत जिम्मेवारी पुरा गरेका छन् । आमाको नाममा कौशिल्या मेमोरियल ट्रस्ट सञ्चालन गरी रहेका उनले त्यसै मार्फत सामाजिक कामलाई निरन्तरता दिएका छन् ।
विगतमा जापान र हङकङको बसाइ अनुभव भएका उनी ६० भन्दा बढी देश पुगी सकेका छन् । यसैबाट अन्तर्राष्ट्रिय खेलकुदको बारे राम्रो जानकारी  राखेका उनी नेपाली खेलकुदका केही कुराले भने आश्चर्यमा परेका छन् ।  खेलकुदमा नियुक्ति पाउने धेरै जना यसको विकासका लागि पर्ने भन्दा पनि व्यक्तिगत स्वार्थमा रुमल्लिएको उनको अनुभव छ । तर, उनी भने विदेशमा रहँदा जानेका कुरा नेपाली खेलकुदका लागि प्रयोग गर्न प्रतिबद्ध छन् ।  नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय निकायसँग जोड्ने योजनामा उनी उनी प्रतिबद्ध छन् ।
Comment