सचिन दिपाको खेल मोह यथावत
Manoj Shiama
18 March, 2022 11:20 am

दीपक अमात्य कुनै समयमा नेपालका स्टार फुटबलर । सन् १९९६ को दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता दीपककै नेतृत्वमा काठमाडौँमा भएको दक्षिण एसियाली खेलकुदमा नेपाली टोली उपविजेता बनेको थियो । कुनै समय नेपाली राष्ट्रिय टोलीका भरपर्दा होल्डीङ मिडफील्डर दीपकका भाइ सचिन पूर्व फी फा रेफ्रि । थ्री स्टार र जाउलाखेलको अनुभव बटुलेका उनै सचिनकै नेतृत्वमा ब्रिगेड ब्वाइज क्लब ए डिभिजनमा बढुवा भएको हो ।
सचिनकै परिवार भित्रका सदस्य फुटबलकी पूर्व राष्ट्रिय खेलाडी सरिला श्रेष्ठ र बास्केटबलकी हालकी राष्ट्रिय टोलीकी कप्तान सदिना श्रेष्ठ । एक से एक नाम चलेका खेलाडीको बिचको त्यो परिवारमा बुहारीको रूपमा दिपा क्षेत्रीको प्रवेशले त नेपाली खेलकुदमा सो परिवारको साखलाई अझ माथि उठाएको छ । सन् २००९ मा भएको एलाइट राष्ट्रिय रेफ्रि कोर्षको दौरान प्रेममा बाँधिएका सचिन दिपाले दुई वर्ष पछि आफ्नो प्रेमलाई विवाहको स्वरूप दिएका थिए ।
दिपा तीनै खेलाडी हुन् जसले नेपाली खेलकुदमा बक्सिङ र फुटबल दुवै खेलमा राष्ट्रिय खेलाडीको ताज मात्र पहिरिनन् अन्तर्राष्ट्रिय पदक पनि जितिन् ।
धेरैका लागि रहस्यको विषय हो की दिपा बक्सिङको अन्तर्राष्ट्रिय पदक विजेता हुनु भन्दा अगाडी नै कराँतेको क्षेत्रीय च्याम्पियन थिइन् । साफ खेलको छनोटमा हुने छोरी डङ्गोल समेत पराजित भएकी थिइन् ।
एपीएफमा आबद्ध भए पछि उनी बक्सिङमा आबद्ध भएकी थिइन् । बक्सिङमा आबद्ध भएको केही समयमा नै उनी राष्ट्रिय खेलाडी मात्र भइनन् की नेपाली बक्सिङमा लगभग आठ वर्ष अपराजेय छवि बनाउन सफल भइन् । यसै क्रममा काठमाडौँमा भएको पाँचौँ राष्ट्रिय खेलकुदकी उत्कृष्ट बक्सर उनी सन् २००४ मा भारतको गुहावटीमा भएको एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा उनी कास्य पदक जित्न सफल भइन् । ६३ किलो तौल समूहमा त्यो साख कायम गरेकी उनले एसियाली पदक भने ७० किलो तौल समूहमा हात पारेकी हुन् ।नेपाली बक्सिङमा प्रभाव जमाइ रहेकी उनका लागि त्यहाँका वातावरण असहज महसुस हुन थालेको थियो । त्यसो त नेपाली खेलकुदका लेख्य र अलेख्य थुप्रै विकृतिका पाटा छन् ।
यसैले दिपालाई नेपाली बक्सिङ प्रति मोह भङ्ग भएको हो । सामान्य फुटबलको ज्ञान भएकी दिपा यस पछि त्यसै खेलमा सक्रिय भइन् । दिपाको उपस्थिति नेपाली फुटबलमा यसरी जमेको थियो की उनी सहितको जब्बर रक्षापक्ति कै कारण नेपालले दक्षिण एसियाली खेलकुद र दक्षिण एसियाली महिला च्याम्पियनसिप फुटबलका उपाधि माथि धावा बोल्न सफल भएको थियो । भलै, ढाकामा भारतसँग भएको साग खेलकुदमा लामो समय अग्रता १–० को अग्रता लिएको नेपाल त्यो अग्रता जोगाउन नसक्दा उपविजेतामा सीमित भएको थियो ।
सचिन र दिपा दुवै रोजगारीको सिलसिलामा मकाउ पुगे पछि पनि दिपाको खेल प्रतिको मोह यथावत थियो । त्यहाँ पनि उनले रोजगारीबाट समय निकालेर क्लब, फीटेनस सेन्टर र प्रशिक्षण केन्द्रमा आफूलाई व्यस्त राखिन् । त्यहाँ रहँदा पनि धेर क्लब स्तरीय प्रतियोगिता खेलेकी उनी अहिले नेपालमा फर्केकी छिन् ।
अहिले सचिन र दीपक दुवै जना नेपाल फर्केका छन् । रेफ्रिको रूपमा प्राप्त ज्ञानलाई फेरी प्रयोग गर्ने बाटोमा सचिन छन् । यसै गरी, दिपा व्यवस्थापकीय र प्रशासनिक भूमिकाको खोजीमा छन् ।
आशा गरौँ, नेपाली फुटबलले यो जोडीलाई आफ्नो सिप र ज्ञानलाई प्रयोग गर्ने प्रशस्त स्थान दिने छ ।