राष्ट्रिय बिच भलिबलको तयारी

सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता चैत २४ गतेदेखि हुने भएको छ ।
तीन दिने प्रतियोगिता पाल्पाको तानसेनस्थित रानी महलमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घकी उपाध्यक्ष समेत रहेकी प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी गराइन् ।
करिब ३० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सातै प्रदेश र विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टिम सहभागी हुने छन् । एक टिममा २ खेलाडी मात्र रहने छन् ।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । सहभागी टिमलाई यातायात, बसोबास, जर्सी, खेल सामाग्री र ‘म्याच फि’ को व्यवस्था आयोजकले गर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव कुलबहादुर थापा, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, कलाकार धीरेन शाक्यले प्रतियोगिता सफलताका लागि शुभकामना दिएका थिए ।
Comment