अर्घाखाँचीमा रोड रेसको  तयारी तीव्र

“अब दौडिन्छ अर्घाखाँची” भन्ने मूल नाराका साथ अर्घाखाँची जिल्लामा प्रथम राष्ट्रिय अर्घाखाँची रोड रेस २०७८ हुने भएको छ । मङ्गलवार बिहान सन्धि खर्कमा पत्रकार सम्मेलन गरी प्रथम राष्ट्रिय अर्घाखाँची रोड रेस हुन लागिको आयोजकले जनाएको हो । रेसको तयारी तीव्र रूपमा भइरहेको जनाइएको छ ।
यस दौडले अर्घाखाँचीलाई अन्तर्राष्ट्रिय निकायमा परिचित गराउन सफल हुने विश्वास रहेको आयोजकले जनाएको छ । विभिन्न विधामा सञ्चालन हुने यस रेसमा भिन्न उमेर समूह  पनि राखिएको स्पोर्टस भ्वाइसका अध्यक्ष पृथ्वी थापाले बताए ।
थापाले महिला र पुरुषको खुला समूहको पाँच किलोमिटर दौडमा  साथै  ४० वर्ष माथिको भेट्रान्सको पुरुष ५ किलोमिटर,दौड समावेश छन् । यसै गरी,  विद्यालय तहको विभिन्न स्पर्धा समावेश गरिएका छन् । विद्यालय तहका विद्यार्थीका लागि छोटो दुरीका  दौड समावेश गरिएका  छन् ।
विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा १००० खेलाडीहरूको सहभागिता हुने गरी व्यवस्था मिलाइएको समेत अध्यक्ष थापाले जानकारी दिए । सहभागी खेलाडीलाई पोसाक, प्रमाणपत्र र विजेता खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
खेल सञ्चालन गर्न नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी, म्याराथन कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र एथलेटिक्स मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ, लगायत त्यहाँ पुग्ने छन् ।
कार्यक्रमको अनुमानित लागत १६ लाख ५० हजार रुपैयाँ छ । अर्घाखाँची जिल्लाको पहिचान र खेल तथा पर्यटन विकासको निम्ति जिल्लाका ६ वटै स्थानीय तह, सम्पूर्ण सङ्घ संस्थाहरू र सहयोगीहरूको सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ । खेल फागुन २७ र २८ गते हुने छ । पत्रकार सम्मेलन जीवन नेपालीले सञ्चालन गरेका थिए ।
Comment