कीर्तिपुर क्वाटर फाइनलमा


लगातार तीन खेल जित्दै कीर्तिपुर नगरपालिका लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शनिवार क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ को लिग खेलमा कीर्तिपुरले मोफसलको टोली कास्कीलाई ९४–४७ ले पराजित गर्दै समूह विजेता बन्यो । कीर्तिपुरका अनिल खड्गीले ७ अङ्क जोड्दा कास्कीका सुदीप कार्कीले सर्वाधिक १६ स्कोर गरे । अपराजित कीर्तिपुरले यसअघि समूह चरणको खेलमा बीएमके र एचआईके भिजनलाई हराएको थियो । क्वाटर फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्न बाँकी छ ।
पुरुषमै क्याम्पियन सोलो समूह ‘डी’ को उपविजेता बन्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गर्न सफल भयो । क्याम्पियनले एनसीसीएसलाई ६७–५५ ले पाखा लगायो । क्याम्पियनका मनेष राजोपाध्यायले १३ अङ्क जोडे । यो समूहबाट गोल्डेनगेट विजेता हुँदै क्वाटर फाइनल पुगिसकेको छ ।
समूह ‘ए’ कै अर्को लिगमा एचआईकेले बीएमकेलाई ७५–६८ ले पन्छायो । एचआईकेका विजय लामाले २६ अङ्क बटुले । तीन खेलमा एचआईकेको पहिलो जित हो ।
महिलाको राउन्ड रोविन लिगमा रोयल बास्केटबल एकेडेमीले कीर्तिपुरमाथि ७६–२१ को सहज जित निकाल्यो । रोयलकी प्रतीक्षा मगरले १६ अङ्क जोडिन् ।

Comment