बैतडी क्रिकेट संघको सातौं अधिवेशनको चौतर्फी विरोध

बुधबार बैतडी जिल्ला क्रिकेट संघको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले विनोदबहादुर चन्दको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति गठन गरेको थियो ।

१५ सदस्यीय उक्त समितिमा १३ जना दशरथचन्द नगरपालिका भित्रका व्यक्ति चयन भएका छन् । अन्य दुई जना मात्रै अन्य स्थानीय तहका चयन भएपछि विरोध भएको हो ।

उक्त समितिमा अटाएका व्यक्तिहरू नेपाली कांग्रेस पार्टीसँग आबद्ध रहेको र एकै पालीकाका अधिकांश व्यक्तिहरू समेटिएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

यसैबीच जिल्ला खेलकुद विकास समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रिकेट संघको अधिवेशन गलत नियतका साथ भएको भनी आपत्ति जनाएको छ । विज्ञप्तिमा वर्षौँदेखि एकै ठाउँका व्यक्तिले जिल्लाको क्रिकेटमा एकाधिकार जमाएको कुरा उल्लेख गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति अध्यक्ष भण्डारीले भने,‘क्रिकेट संघमा विगतदेखि मनोमानी हुँदै आएको छ । सधैँभरी त्रिपुराकै व्यक्ति अध्यक्ष बन्ने परिपाटी कायम छ । अहिले समितिमा बसेका व्यक्तिको नाम अगाडी हरेकको ठेगानामा दनपा लेखिएको छ । सामाजिक सञ्जालमा लिस्ट आयो, हामीलाई हेर्नै लाज भयो । अध्यक्षमा सरकारी कर्मचारी चयन भएका छन् । सदस्यमा त्यही नगरपालिकाका उपमेयर र उनका श्रीमान् छन् । यो कुरालाई कम्तीमा ध्यान दिनु पर्दथ्यो ।’

बैतडीका १० स्थानीयतह मध्ये सबै पालिकामा खेलाडी र खेल प्रेमी रहेकाले उनीहरू समेत समितिमा समेटिनुपर्ने भण्डारीको भनाई छ ।

खेलकुद विकास समितिको विज्ञप्ति प्रति क्रिकेट संघले भने आपत्ति जनाएको छ । क्रिकेट संघले नियम संगत ढंगबाट नै अधिवेशन सम्पन्न भएको भन्दै आज एक विज्ञप्तिसमेत जारी गरेको छ । क्रिकेट संघका नव निर्वाचित अध्यक्ष विनोदबहादुर चन्दले एक/एक जना मात्रै समेटिए पनि तीन पालिकाका व्यक्ति निर्वाचित भएको बताए ।

उनले निर्वाचित सबै व्यक्ति विधान अनुसार योग्य रहेको बताएका छन् । अन्य पालिकामा रहेका क्लब नवीकरण नभएकाले समेट्न  समस्या भएको उनले बताएका छन् । नेपाल क्रिकेट संघको विधान २०५५ को तेस्रो संशोधन अनुसार विधानको परिच्छेद ९ दफा २३ मा उल्लेखित बुँदा अनुसार अधिवेशन सम्पन्न गरिएको उनको दाबी छ। ‘नीति नियम नबुझेरै सामाजिक सञ्जालमा विरोध गर्नेलाई केही भन्नुछैन । तर, समग्र बैतडीको क्रिकेट क्षेत्रलाई विकास गरी उचाइमा पुगाउन मेरो पहल रहन्छ,’ उनले भने ।

नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दकै प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको र चन्द नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत भएकाले अन्य पार्टी आबद्ध व्यक्तिहरूले सामाजिक सञ्जालमा विरोध गरिरहेका हुन् ।

Comment