दाङमा शुक्रवारदेखि आईटिएफ प्रतियोगिता सुरु

दाङको घोराहीमा शुक्रवारदेखि लुम्बिनी प्रदेशस्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । दाङ जिल्ला आईटिएफ तेक्वान्दो सङ्घको आयोजना तथा चौघेरा तेक्वान्दो डोजाङको सहकार्यमा आयोजित प्रतियोगितामा दाङ, प्युठान, बाँके, बर्दिया, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, पाल्पा र रुपन्देही जिल्लाका करिब २ सय ५० खेलाडी सहभागी छन् । प्रतियोगितामा २० केजीदेखि ६० केजी तौल समूहमा महिला र २० देखि ७० तौल समूहमा पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयोजक दाङ जिल्ला आईटिएफ तेक्वान्दो सङ्घका अध्यक्ष भीमबहादुर थापाले जानकारी दिएका छन् । ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू घोराही उपमहानगरपालिका-१४ कभर्ड हलमा भइरहेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले खेल क्षेत्रको विकासका लागि पूर्वाधारको विकास हुन आवश्यक रहेको बताएकी छन् ।
 प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री घर्तीले स्वास्थ्यसँगै देशको पहिचानसँग जोडिएको खेल क्षेत्रको विकासका लागि पर्याप्त पूर्वाधार नहुँदा क्षमता वान तथा प्रतिभाशाली खेलाडी पहिचान गर्न समस्या भएको बताइन् । उनले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार विकास गर्न आवश्यक रहेको बताइन् । उनले पछिल्ला समयमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारले हरेक खेलका लागि पूर्वाधार विकासमा प्राथमिकता दिएको भन्दै आफूले प्रदेशका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् । नेपाली काँग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले देशको इज्जत बढाउनेदेखि खेलाडीहरूलाई अनुशासनका माध्यमबाट अघि बढाउन सहयोग पुर्‍याउने खेलकुद क्षेत्रलाई अघि बढाउन राज्यले खेलाडीसँगै पूर्वाधारको विकासमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले हरेक व्यक्तिका लागि आईटिएफ तेक्वान्दो खेल स्वास्थ्यसँगै आत्म सुरक्षाका लागि समेत आवश्यक रहेकाले खेल्न आवश्यक भएको बताएका थिए ।
Comment