ढोरपाटनलाई गुरुङ स्पोर्ट्स हाउस भलिबलको उपाधि

गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिताको उपाधि ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रले जितेको छ । उपाधि जित्ने क्रममा ढोरपाटनले शनिवार सम्पन्न फाइनलमा आयोजक गुरुङ स्पोर्ट्स हाउसलाई २५–१६, २५–२१,१५–२० ले हरायो ।
यसै गरी, मण्डली स्पोर्ट्स क्लबले एक नं प्रदेश रातोलाई २२–२५, २५–१८,२५–१९२३–२५, १५–१० ले हराउँदै तेस्रो स्थान पायो ।
प्रतियोगितामा ढोरपाटनका प्रताप खवास उत्कृष्ट खेलाडी घोषित भए । यसै गरी, गुरुङ स्पोर्ट्स हाउसका सन्तोष श्रेष्ठ उत्कृष्ट स्पाइकर,एक नं प्रदेशका राम घताने उत्कृष्ट ब्लकर र ढोरपाटनका मनवीर छन्त्याल उत्कृष्ट डिफेन्स घोषित भए । यसै गरी मण्डलीका राजन गुरुङ उत्कृष्ट सर्भर तथा ढोरपाटनका  मन कुमार छन्त्याल उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य विधागत उत्कृष्टले तीन हजार रुपैयाँ पुरस्कार पाए ।
ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा सम्पन्न प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उप विजयी टोलीले ६१ हजार १सय ११ रुपैयाँ पुरस्कार पाए । यसै गरी, तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो भने चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाएको छ ।
विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि राखेप सदस्य एकेन्द्र कुँवर र विशिष्ट अतिथि नेपाल भलिबल सङ्घका कार्यवाहक अध्यक्ष यम गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो । एक टोलीमा पाँच  खेलाडी  समावेश थिए । चार खेलाडी मैदानमा उपस्थित हुने प्रावधान रहेको थियो  । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष वासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भूमिका रहेको जनाइएको छ ।
कार्यक्रममा नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्र चन्द, नेपाल भलिबल सङ्घका सचिव जगदीश भट्ट, नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्व कप्तान भरत शाह र राष्ट्रिय टोलीका पूर्व स्पाइकर सञ्जय अर्याल लगायतको उपस्थिति थियो । राज कुमार गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन विकास गुरुङले गरेका थिए ।
गुरुङले दोस्रो पुरस्कार प्रायोजन गरेका थिए । यसै गरी, नेपाल जापान भलिबल सङ्घ, नमुना यूथ एक्टीभ ग्रुपका अध्यक्ष शिर बहादुर तामाङ र सुसाही ठकुरीको पनि प्रतियोगिता आयोजनामा मुख्य भूमिका थियो  । चिरायु हस्पिटलले मेडिकल पार्टनरको रूपमा प्रतियोगिता अवधिभर सहयोग गरेको थियो ।
Comment