गुरुङ स्पोर्ट्स हाउस कप भलिबल सुरु

गुरुङ स्पोर्ट्स हाउसको आयोजनामा सञ्चालित प्रथम गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता मङ्गलवार सुरु भयो । पहिलो दिन भएको खेलमा प्रदेश नं एक रातो र मण्डली पाल्पाले जित हात पारेका छन् ।
प्रदेश एकले रोल्पालाई २५–१६, २५–२० ले हरायो । यसै गरी,पाल्पाले सिवा डोल भक्तपुरमाथिको खेलमा २५–२२, २५–२३ को सफलता पायो ।
ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा जारी प्रतियोगिताको लागत १५ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ४० वर्ष भन्दा माथिको खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छ  । यसै गरी, उप विजयी टोलीले ६१ हजार १सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् । चौथो हुने टोलीले ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा हुने छ । एक टोलीमा पाँच  खेलाडी  समावेश हुन् छन् । चार खेलाडी मैदानमा उपस्थित हुने प्रावधान छ  । प्रतियोगिताको आयोजनामा हङकङ बस्ने गौरव गुरुङ, हेल्प नेपाल स्पोर्ट्स क्लबका अध्यक्ष वासु श्रेष्ठ, हाल अमेरिका बस्ने राजु केसी र हाल जापान बस्ने रामु थापा ‘ काजी ’ लगायतको मुख्य भूमिका रहेको छ ।
Comment