दाजुभाइ र स्याङ्जा महिला भलिबलको फाइनलमा 

नवलपुरको दाजु भाइ ट्रान्सपोर्ट सेवा प्रालि र स्याङ्जा भलिबल क्लब वालिङ भलिबल क्लबको दोस्रो वार्षिकोत्सवको उपलक्षमा आयोजित पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा बुधवार भएको पहिलो खेलमा दाजुभाइले अकला फेन्सी स्टोर्स गल्याङलाई २५–५, २५–६ र २५–९ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । अर्को खेलमा स्याङ्जा भलिबल क्लबले आयोजक वालिङ भलिबल क्लबलाई २५–१६, २५–२० र २५–११ को सोझो सेटमा हराउँदै फाइनलमा दाजु भाइसँगको भेट पक्का गरेको छ । फाइनल शनिवार हुनेछ । पुरुषतर्फ राङ खोला भलिबल क्लब र भिर कोट बयर घारीको खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको छ । चौथो सेट २१–२० को अवस्थामा चलिरहँदा लाइट प्रोटेस्ट लागेको थियो । खेलमा राङ खोला २–१ को सेटमा अघि रहेको थियो । सो खेल बिहीबार हुने आयोजक वालिङ भलिबल क्लबले जनाएको छ ।
वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर साबिकको वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ ८ टोली तथा पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सम्बन्धित वडाका ३ खेलाडी अनिवार्य हुनुपर्ने र बाँकी बाहिरका खेलाडी राख्न पाउने छन् । पुरुषतर्फको विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार तथा सान्त्वना हुने टोलीले १० हजार प्राप्त गर्नेछन् । पुरुषतर्फको उत्कृष्ट खेलाडीले ५ हजार तथा व्यक्तिगत विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर तथा वेष्ट डिफेन्स) ले जनही २ हजार प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले २० हजार, दोस्रो हुनेले १० हजार तथा तेस्रो हुने टोलीले ५ हजार प्राप्त गर्नेछन् । महिलातर्फको उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
Comment