दाङसिङमा इश्वर स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता जारी

पोखरा
भुरुङ्दी युवा क्लब दाङसिङ–७ लामदुवालीले फागु पूर्णिमाको अवसरमा बिहीबारदेखि सञ्चालन गरेको इश्वर स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा उल्लेरी क्लब विजयी भएको छ।
इश्वर गुरुङको स्मृतिमा लामदुवालीमा शुक्रबार भएको खेलमा उल्लेरी क्लबले बाँझघरेलाई २५–२३, २५–२३ र २६–२४ ले पराजित गरेको छ।खेल बेस्ट अफ फाइभका आधारमा खेलाइनेछ। ३२ टीमको सहभागिता रहेको प्रतियोगितामा विजेता टीमलाई नगद ३५ हजार तथा उपविजेतालाई नगद २० हजार, शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ।बेस्ट प्लयेर र बेस्ट स्पाइकरलाई आकर्षक पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष नजरमान गुरुङले जानकारी दिए।
प्राविस्तरीय सामूहिक नृत्य प्रतियोगितामा वीरेठाँटी माविकाविद्यार्थी प्रथम तथा भूमे प्रावि सुदामेका विद्यार्थी द्वितीय भएका छन्। सामूहिक प्रतियोगितामा प्रथम हुनेलाई नगद तीनहजार तथा द्वितीय हुनेलाई नगद दुई हजार पुरस्कार प्रदान गरिनेछ। यस्तै छेलो हान्ने र लठो तान्ने प्रतियोगिता पनि हुने क्लबले जनाएको छ। सोही अवसरमा प्रमख अतिथि पोखरा उप–महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्माले क्लबलाई दुई थान बल र नगद १० हजार प्रदान गरेका थिए। यस्तै कास्की जिल्ला भलिबल सङ्घका वरिष्ठ उपाध्यक्ष खगेन्द्र गौचनले पनि क्लबलाई दुई थान बल प्रदान गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि नारायण शर्मा, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, खगेन्द्र गौचन, क्षेत्रीय भलिबल सङ्घका सल्लाहकार देवेन्द्र केसी, गोविन्द थापा, राजु थापा, आँधीखोला स्पोर्टस् क्लब हङकङकका सल्लाहकार शंकर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए।

Comment