आर्मी, पुलिस र एपिएफको विजयी सुरुवात

 त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसँगै गलकोट स्पोर्ट्स क्लबले छैटौँ संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् ।
आइतबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित हात पारेको हो ।
अर्को खेलमा नेपाल एपिएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले दोस्रो सेटमा २५–१८, तेस्रो सेट २५–१३ तथा चौथो सेट २५–१५ ले जितेको हो ।
अर्को खेलमा बाग्लुगको गलकोट स्पोर्ट्स क्लबले बागमती प्रदेशलाई हरायो । पहिलो सेटमा २५–१८ ले जितेको गलकोटले दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१७ ले जित्न सफल भएको हो ।
उद्घाटन खेलमा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेटमा २५–१७ को जितेको पुलिसले दोस्रो सेट २५–२१ ले र तेस्रो सेटमा २५–१३ को साथ जितेको हो ।
च्याम्पियनसिप १० देखि १६ असोजसम्म हुने छ । च्याम्पियनसिपको दोस्रो दिन पुरुषतर्फको समूह चरणको ६ खेलमा प्रतिस्पर्धा हुनेछ ।
टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले बागमती प्रदेश, प्रदेश २ ले गलकोट, दावाली मिलन क्लबले गण्डकी प्रदेश, नेपाल पुलिस क्लबले मणिमुकन्द भलिबल, नयाँ बजार सामाजिक युवा क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ । बुढानीलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोर्ट्स क्लबसँग खेल्नेछ । महिलातर्फको खेल १२ असोजदेखि सुरु हुनेछ ।
च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ए मा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, प्रदेश नम्बर २, बागमती प्रदेश र गलकोट स्पोर्ट्स क्लब रहेका छन् । समूह बी मा नेपाल पुलिस क्लब, मणि मुकुन्द भलिबल क्लब, दावाली मिलन क्लब र गण्डकी प्रदेश छन् ।
समूह सी मा त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब र कर्णाली प्रदेश तथा समूह डी मा नेपाल एपीएफ क्लब, बुढानीलकण्ठ भलिबल क्लब र ढोरपाटन स्पोर्ट्स क्लब छन् । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटर फाइनलमा स्थान बनाउनेछ ।
महिलातर्फ ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपिएफ क्लब, ढोरपाटन स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब छन् । समूह बी मा होंगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र त्रिभुवन आर्मी क्लब छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली आसन्न चैतमा हुने लिगका लागि छनोट हुनेछ ।
च्याम्पियन हुने पुरुष र महिला टोलीले समान ४ लाख रुपैयाँ हात पार्ने छन् । दोस्रो हुने टोलीले २ लाख तथा तेस्रो हुने टोलीले १ लाख रुपैयाँ हात पार्ने छन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्ने छन् । हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । पाँचौँ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलामा विभागीय नेपाल एपिएफ क्लब च्याम्पियन बनेको थियो । त्यस्तै पाँचौँ संस्करणको लिगमा हेल्प नेपाल र होंगान्जी न्यु डायमन्ड च्याम्पियन बनेको थियो ।
Comment