ल्वाङघलेल थ्रीसिस्टर्स गाविस कप भलिबलको च्याम्पियन

volleyball pokhara
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा सम्बन्धित खेल सङ्घहरूको व्यवस्थापनमा पोखरा रड्डशालामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत बिहीबार सम्पन्न थ्रीसिस्टर्स गाविस कप भलिबल प्रतियोगिता–२०७१ को च्याम्पियन ल्वाङघलेल गाविस हुन सफल भएको छ।
कास्की जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा बिहीबार भलिबल कोर्टमा सम्पन्न फाइनल खेलमा सार्दीखोला गाविसलाई सोझो तीन सेटमा पराजित गर्दै डिफेण्डिङ च्याम्पियन ल्वाङघलेल थ्री सिस्टर्स गाविस कप–२०७१ को च्याम्पियन बन्न सफल भएको हो। च्याम्पियनन बनेको ल्वाङघलेलले ट्रफीसहित नगद ६० हजार प्राप्त गर्न सफल भयो भने दोस्रो पटक पनि उपविजेतामा सीमित सार्दीखोलाले नगद ४० हजारमा चित्त बुझायो।
उसले सार्दीखोलालाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१० ले पन्छाएको थियो।दुवै टीम गत वर्ष पनि भिडेका थिए। सो खेलमा ल्वाङघलेलका दुर्गा विक बेस्ट प्लेयर घोषित हुँदै नगद पाँच हजार प्राप्त गर्न सफल भए।
विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारी, नेपाल भलिबल सङ्घका कार्यबाहक अध्यक्ष यामबहादुर गुरुङ, प्रतियोगिताको मुख्य प्रायोजक थ्री सिस्टर फाउण्डेशनका लक्की कार्की र डिक्की कार्की, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा, पोखरा उप–महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मा, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका अध्यक्ष छ्यामबहादुर थापा, सल्लाहकार देवेन्द्र केसी, पोखरा फोहोर मैला व्यवस्थापन प्रालिका अध्यक्ष मन्त्रीराज उलक, कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीलगायतले पुरस्कार वितरण गरेका थिए।
सो अवसरमा प्रमुख अतिथि कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले सीमित स्रोत र साधनको बाबजुत पनि पोखरालाई खेलकुदको सहर बनाउन लागिपरेकोमा खेलकुद विकास समितिको प्रशंसा गरे। उनले पोखरालाई खेलकुदको सहर बनाउने अभियानमा सहयोग पु¥याउनको लागि यसपटकदेखि जिल्ला विकास समिति कास्कीको परिषद् बैठकबाट जिल्ला खेलकुद विकास समितिको नाउँमै बजेट विनियोजन गर्न सुरु गरेको जानकारी दिए।
कास्की जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गरेका थिए। फागुन १५ गतेदेखि सञ्चालित प्रतियोगितामा ३२ टीमको सहभागिता रहेको थियो।सबै खेल बेस्ट अफ फाइभका आधारमा खेलाइएको थियो।

Comment