रुपेशको एकल अग्रता

नेपाल बुद्धिचाल सङ्घका पूर्व अध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा चौथौँ दिन छैटौँ र सातौँ चरणका खेलहरू सम्पन्न भए । कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा सञ्चालित खेलमा सजिलोसिभी डटकमका फिडे मास्टर रुपेश जैशवाल साढे ६ अङ्कसहित शीर्षस्थानमा छन् । रुपेशले छैटौँ चरणको खेलमा ३ पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई हराए भने सातौँ चरणमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथालाई पराजित गरे ।
ललितपुर स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगितामा रौतहटका युवा खेलाडी सुमन लामा र सर्लाहीका कमल श्रेष्ठ समान ६ अङ्कका साथ संयुक्त रूपमा दोस्रो स्थानमा रहेका छन् । सुमनले छैटौँ खेलमा एसियन एमेच्योर च्याम्पियन हेटौडाका कृष्ण थापालाई पन्छाए भने सातौँमा बद्रीलाललाई निराश पारे । त्यस्तै कमलले आयोजक क्लबका सजिन महर्जन र फिडे मास्टर मनिष हमालमाथि जित हात पारेका थिए ।
त्यसै गरी चितवनका युवा खेलाडी अर्जुन घिमिरे, भक्तपुरका भेट्रान गणेशमान दुवाल, थापाथली चेस क्लबका फिडे मास्टर क्षितिज भण्डारी, डाइनामिक चेस एकेडेमी दमकका भूपेन्द्र निरौला, दोलखाका आशिष फुयाँल र मखन चेस क्लबका फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठले समान साढे ५ अङ्क जोडेका छन् ।
पाँच दिने प्रतियोगितामा स्विस लिग अनुसार ९ चरणका खेलहरू हुनेछ । जसमा विजेताले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने उत्कृष्ट ३३ जनाले कुल ३ लाख १० हजार नगद पुरस्कार पाउने छन् ।
Comment