पाराग्लाइडिङको प्रि–वल्र्ड कपअन्तर्गत पाँचौं दिन ९० किमी टास्क सफल

पोखरा
पोखरामा पहिलो पटक सञ्चालन भएको पाराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कपलाई मौसमले पाँचौं दिनमा भने पूर्ण साथ दिएको छ। बुधबार पाँचांै दिनको खेलमा भने ९० किलोमिटरको टास्क पूर्णरूपमा सफल भएको टास्क कमिटीले जनाएको छ।
प्रतियोगीले सराङकोटबाट उडान भरी तोरीपानी, मान्द्रेढुंगा, मेथलाङ, धम्पुस, कोर्चुङ, ल्वाङघलेल, अर्मला, ढिकीडाँडा, सराङकोट, नौडाडा हुँदै फेवातालको केन्द्र विन्दु बनाएर अवतरण गरेका थिए। लगातार तीन दिन र चौथो दिनमा आधाजसो उडान भरेका प्रतियोगीले बुधबार बिहानैदेखि खुलेको मौसले गर्दा उनीहरूको मुहारमा खुसी छाएको थियो। बुधबार भने उनीहरूले खुलेको आकासमा रमाउँदै उडान भरेका हुन्।
पाराग्लाइडिङ खेलको प्रतिस्पर्धाको लगातार तीन दिन पूर्णरूपमा खराब मौसमका कारण स्थगित भएकोमा चौथो दिनमा भने आधा दिनमात्र टास्क हुन सफल भएको थियो। टास्क कमिटीले बिहानको आकास हेरी चौथो दिनमा ७० किलोमिटर दूरीको क्रसकन्ट्री सीमा निर्धारण गरेपछि बीचमै खराब मौसमका कारण पानी पर्न थालेपछि ३० किलोमिटरको टास्क निर्धारण गरिएको थियो।
चौथो दिनको आधाजसो टास्क पूरा भएको थियो। बाँकी टास्क फागुन २२ गते पुनः हुने नाका प्राविधिक उपाध्यक्ष रविन गुरुङले जानकारी दिए। पाराग्लाइडिङ वल्ड कमिटीले प्रतियोगिताको लागि एक दिन थप गर्न अनुमति दिएको कारण फागुन २२ गतेसम्म टास्कको प्रतिस्पर्धा हुने भएको प्रि–वल्र्डकपका संयोजक एवं नाका उपाध्यक्ष सोवित बानियाँले बताए।
प्रतियोगितामा नेपालसहित ३६ राष्ट्रका एक सय ५० पाराग्लाइडिङका पाइलट सहभागी छन्। त्यसमा एक नेपाली महिला सुनिता थापाले खुला प्रतिस्पर्धा गरेकी छन्।

Comment