खराब मौसमका कारण पाराग्लाइडिङको दोस्रो दिनको खेल पनि स्थगित

पोखरा
पोखरामा सुरु भएको पाराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कपअन्तर्गत आइतबार पनि खराब मौसमका कारण सम्पूर्ण उडान स्थगित भएका छन्। शनिबारदेखि पोखराको आकासमा बादल लागेर आकास खुल्न नसकेपछि टाक्स कमिटीले आइतबार बिहान सम्पूर्ण उडान स्थगित भएको जनाएको हो। शनिबारको प्रतिस्प्रर्धाको सम्पूर्ण पाराग्लाइडिङ उडान रद्द भएको थियो भने प्रतिस्पर्धाको दोस्रो दिन पनि खेल स्थगित हुन पुगेको छ।
पोखराको आकासमा बिहानैदेखि वादलले ढाकेर धमिलो भएको छ भने दुई दिनदेखि घाम समेत लाग्न सकेको छैन। पाराग्लाइडिङ उडान गर्न उपयुक्त वातावरण नभएका कारणले गर्दा लगातार दुई दिन खेल स्थगित भएको प्रि—वल्र्डकपका संयोजक एवं नाका उपाध्यक्ष सोवित बानियाँले बताए। पाराग्लाइडिङ प्रि–वल्र्ड कप मा सहभागी पाइलट तथा दर्शक लगातार खेल स्थगित हँुदा निरास भएका छन्। पोखरामा शुक्रबार पराग्लाइडिङ खेलकोे प्रि–वल्र्ड कपअन्तर्गत अभ्यास खेल सफलतापूर्वक भएको थियो। पाराग्लाइडिङ गर्नको लागि निलो आकास देखिने गरी खुलेको तथा घाम लागेको अवस्थामा उपयुक्त वातावरण भएको बानियाँले जानकारी दिए।
प्रतिस्पर्धाको आधारमा छ दिनको खेल सञ्चालन हुने भए पनि यस प्रतियोगितामा न्यूनतम दुई दिनको टाक्स लिनुपर्ने भएकोले कम्तीमा पनि दुई दिन आकास खुल्नैपर्ने नाका प्राविधिक उपाध्यक्ष रविन गुरुङले बताए। उनले भने–‘मौसमविद्हरूले भने अनुसार सोमबारसम्म मौसम खराब भए पनि मड्डलबारदेखि मौसममा सुधार आउने भएकोले हामी आशावादी छौं, हामीले न्यूनतम दुई दिनको टाक्स पूरा गर्न पाउनेछौं।’ प्रतियोगितामा नेपालसहित ३६ राष्ट्रका एक सय ५० पाराग्लाइडिङका पाइलट सहभागी हुँदै गरेको बानियाँले बताए। प्रतियोगिता यही फागुन २१ गतेसम्म सञ्चालन हुने भएको छ।
पाइलटहरूले सराङकोटको १४ सय मिटरको उचाईबाट उडान भरी तोकिएको निर्धारित पोखरा क्षेत्रको आकासमा पुगि क्रसकन्ट्री गरी फेवाताल नजिकको चाटवटा ठाउँमा अवतरण गर्ने भएका हुन। ब्लु स्काई ल्याण्डिङ, प्यारानोभा ल्याण्डिङ, ईन अफ लेक र सनराई ल्याण्डीङमा जुन स्थानमा प्रतितियोगीले ल्याण्ड गर्न सहज हुन्छ सोही क्षेत्रबाट अवतरण गर्न सक्ने संयोजक बानियाँले जनाए। उक्त प्रि–वल्र्ड कपको लागि वल्र्डकप कमिटीबाट प्राविधिकले स्थलगत अवलोकन समेत गर्दै गरेको आयोजकले जनाएको छ।
यसैबीच, उक्त प्रि–वल्र्ड कप खेल आइतबार बिहानैदेखि स्थगित भएका कारण उनीहरूलाई पोखराका पर्यटकीय स्थलमा अवलोकन गराइएकोे छ। सहभागी पाइलटमध्ये करिब ८० जनालाई डेभिड फल्स, पोखरा घारीपाटनमा रहेको अन्तर्राष्ट्रिय क्षेत्रिय म्युजियम र बाटुलेचौरमा रहेको चमेरी गुफा लगायतको क्षेत्रमा भ्रमणमा लगेको नाका महासचिव वसन्तराज दवाडीले बताए।

Comment