नेपाली चेसमा सिग्देलको चासो

कृष्ण प्रसाद सिग्देल नेपाल बुद्धिचाल सङ्घका प्रदेश नं एकका अध्यक्ष ।  खेलाडीको रूपमा एथलेटिक्सको रूपमा सुरुवाती दिन बिताएका सिग्देल चेस खेलमा सक्रिय भएको केही वर्ष भएको छ । सामान्य खेलाडीको रूपमा रहेका कृष्ण थापाथली चेस पार्कमा आगमनसँगै प्रतियोगिता खेल्न लायक खेलाडीको रूपमा स्थापित भए ।
एक दशक अघि थापाथली चेस पार्कको उदयको युग सुरु भयो । सोही समयमा कृष्ण सिग्देल पनि त्यहाँ पुगेका थिए । त्यहीँबाट जमर्को चले पछि उनी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न दिल्ली पुगेका थिए ।
यो प्रतियोगिता पछि उनको चेससँगको मोह बढेको थियो । तर, व्यवसायमा केन्द्रित उनको जीवनमा सक्रिय खेलाडी लागी पर्न कठिन थियो । यस पछि उनको सक्रियता व्यवस्थापकीय रूपमा पनि अघि बढेको हो ।
चेस मोहका कारण केही प्रतियोगितामा भने उनले सहभागिता जनाए । काठमाडौँमा भएको दक्षिण एसियाली एचम्योर चेस च्याम्पियनसिपमा सहभागिता जनाएका उनले काठमाडौँमा भएको एसियन एमच्योर चेस च्याम्पियनसिपमा पनि सहभागिता जनाए ।
यी त भए खेलाडीका कुरा । खासमा उनको उपस्थिति पश्चात् पूर्वी नेपालको चेसमा एउटा नयाँ तरङ्ग पैदा भयो । झापा जिल्ला नेपाली खेलकुद, सामाजिक, राजनीतिक र आर्थिक सबै क्षेत्रमा अग्रणी नै हो । यसै जिल्ला चेसमा पनि एउटा शक्तिको रूपमा रहेको थियो । बाँडिएर रहेको झापाली चेस शक्तिलाई एकीकृत गर्ने जमर्को उनले गरे । यसैका लागि झापाली चेस खेलाडीले जिल्ला उपाध्यक्ष बन्ने प्रस्तावलाई उनले तीन वर्ष अघि स्वीकार गरे । यसको एक वर्ष पछि नै झापाली चेस समुदाय उनको व्यक्तित्वबाट प्रभावित भयो । उनले नै झापा जिल्लाको प्रतिनिधित्व गरे ।
एकसे एक खेलाडी रहेको झापामा उनी आठौँ राष्ट्रिय खेलकुदका लागि भएको छनोट खेलमा झापाबाट छनोट भए । एकसेएक खेलाडी भएको झापामा छनोट हुनु पनि कठिन मानिन्छ । परन्तु उनको नेतृत्व शैलीले सबैलाई मोहित पारेको छ ।
झापामा सक्रिय रहेको डाइनामिक चेस एकेडेमी आजको मितिमा पायनीयर चेस एकेडेमी बनेको छ । यो फराकिलो स्वरूपसम्म आइपुग्दा सिग्देल पनि निकट रहेका छन् । यसै एकेडेमीकी खुसबु थापा ओलम्पियाड खेलाडी हुन् भने कृपा अधिकारी राष्ट्रिय च्याम्पियनसिपमा तेस्रो स्थान पाउन सफल भएकी थिइन् ।
डेढ वर्ष अघि प्रदेश साधारण सभाले उनलाई आफ्नो नेतृत्वका लागि चयन उपयुक्त ठहर गरेको छ ।
युवा अवस्थामा नेपालका परिचित मध्यम दुरीका धावक सिग्देलले राष्ट्रिय स्तरको प्रतियोगितामा पदक प्राप्त गरेको स्वर्णिम इतिहास पनि छ । हाल जिम्मेवार भूमिकामा रहेका सिग्देलका सामु थुप्रै चुनौती छन् । एक नं प्रदेशको साखलाई माथि उठाउने जिम्मेवारी त छदै छ । साथमा नेपाली चेसका विविध विषयमा नयाँ दिसा दिने कुरामा आफ्नो भूमिकाको खोजी पनि उनको निरन्तर रहेको छ । जसका कारण यो खेलमा संलग्न सवैमा गर्व र आत्मसम्मानको महसुस होस् ।
Comment