सिर्जना र सौगात उत्कृष्ट

सुनसरीकी सिर्जना गुरुङ र धरानका सौगात लामा ‘वीर गणेशमान सिंह प्रदेश १ स्तरीय नोभिस बक्सिङ प्रतियोगिता’को उत्कृष्ट खेलाडी घोषित भएका छन् । तीन दिने प्रतियोगितामा सिर्जना महिला ५७ केजी र सौगात पुरुष ५६ केजी तौल समूहका स्वर्ण विजेता हुन् । सिर्जनाले धरानकी कृतिका राई र सौगातले झापाका भिक्टर राईलाई पराजित गर्दै स्वर्ण जितेका थिए ।
प्रतियोगितामा महिला ४८ केजीमा झापाकी अविगेल निरौलाले धरानकी रामकुमारी लिम्बूलाई पराजित गर्दै पहिलो स्थान हात पारिन् । महिलाकै ५१ केजीमा धरानकी ओङ बुङलाहाङमा राईले दमककी टिपाना लावतीलाई हराउँदै स्वर्ण जित्न सफल भइन् । महिलाकै ५४ केजी तौल समूहमा धरानकी एलिस्का रत्नले झापाकी सुस्मिता श्रेष्ठलाई हराउँदै पहिलो स्थान हात पारिन् ।
यसै गरी पुरुष ४९ केजी तौल समूहमा उदयपुरका दीपेन्द्र मगरले पहिलो स्थान हात पारे । उनले दमकका दिवस राईलाई पराजित गरे ।  पुरुषकै ५२ केजीमा धरानका सिंहवीर लिम्बूले सुनसरीका चुपेन राई तथा पुरुष ६० केजीमा उदयपुरका रोजन मगरले धरानका सगम चौधरीलाई पराजित गर्दै स्वर्ण पदक जिते ।  पुरुषकै ६४ केजीमा सुनसरीका धिरज गुरुङले धरानका उज्ज्वल श्रेष्ठ तथा पुरुष ७५ केजी तौल समूहमा धरानका अमृत लिम्बूले सुनसरीका समन सुब्बालाई पराजित गर्दै पहिलो स्थान हात पारे ।
सुनसरी जिल्ला बक्सिङ सङ्घको आयोजना तथा धरान उपमहानगरपालिका र गणेशमान सिंह स्पोर्ट्स कमिटीको विशेष सहयोगमा आयोजना भएको प्रतियोगितामा महिलातर्फ ५ र पुरुषमा ७ तौल समूहमा प्रतिस्पर्धा भएको थियो । जसमा महिलातर्फ ११ र पुरुषमा २९ गरी ४० बक्सरले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, नेपाल बक्सिङ सङ्घका निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ, उपाध्यक्ष किरणबहादुर श्रेष्ठ, महासचिव सविन भट्टाचार्य, सचिव दिनेश सिंह, कोषाध्यक्ष गौतम सुजखु, सदस्य ओमनारायण श्रेष्ठ र आयोजक जिल्ला बक्सिङ सङ्घ सुनसरीका अध्यक्ष विकास गुभाजुलगायतले पुरस्कार प्रदान गरे ।
Comment