नेपाली फुटबलमा सनोजको उचाइ 

ललितपुरको लगनखेल  र मंगलबजार । ४० को दशकसम्म सबै ललितपुरवासीका लागि मूल बजार । जिल्लाका प्राय गतिविधि यही भइरहने । त्यहीँ ललितपुर लगनखेलको  आसपास खेलकुदको पनि केन्द्र । सेनाको राजदलसंगको ठुलो चौर (बुद्धि विकास मण्डलको मैदान) देखि मंगलबजारसम्मका बासिन्दाको नेपाली खेलकुदमा एउटा प्रभाव र पकड । यसै खेलकुद प्रभावित ठाउँमा जन्मिएका सनोज श्रेष्ठले  बाल्यकाल र टिनएज शिक्षा आर्जनकै लागि अन्यत्र कतै बिताए ।
टिनएजको अन्त्यसँगै  ललितपुरे क्लबहरूसँग साइनो जोडिएका सनोज दुई दशकको यात्रामा एक सफल नामको रूपमा आफ्नो भिन्न छवि बनाउन सफल भएका छन् ।
बि.स २०६० मा सनोज पहिलो पटक थ्री स्टार क्लब मार्फत ए डिभिजन खेलाडीको रूपमा रहे । जहाँ उनले थोरै खेल मात्र खेल्न पाए । अर्को सिजन उनी पुगे जावलाखेल यूथ क्लबमा  । जाउलाखेलमा रहँदा उनले धेरै आरोह र अवरोह देखे र सामना गरे । उनले जावलाखेल क्लबमै कप्तानीको भूमिका पनि पाए ।
यस पछि विभिन्न विद्यालय र कलेजमा फुटबल प्रशिक्षकको रूपमा सक्रिय सनोज प्रशासकीय भूमिकामा पनि देखिन थाले । ललितपुर जिल्ला फुटबल सङ्घका सदस्य भए पछि उनी जिल्ला प्रशिक्षक भए । सन् २०१४ देखि भने उनको जीवनले नयाँ मोड लियो । उनले पहिलो पटक उमेर समूहमा नेपाली टोलीको प्रशिक्षणको मौका पाए । उनको प्रशिक्षणमा नेपाली यु–१४ टोलीले सुब्रातो मुखर्जी कपमा सहभागिता जनाएको थियो ।
सोही वर्ष फुटबलको एएफसी सी लाइसेन्स गरेका सनोज ताजकिस्तानमा भएको एएफसी यु–१४ फुटबल फेस्टीबलमा हरि खड्काको असिस्टेन्टको रूपमा रहे । यहाँ जितेको उपाधि नै सनोजको प्रशिक्षकको रूपमा पहिलो उपाधि थियो । अर्को वर्ष ताजकिसतानमा भएको यु–१५ फुटबल फेस्टीबलमा सनोजकै प्रशिक्षणमा टोली समावेश हुँदै पुरानो सफलतालाई निरन्तरता दिएको थियो ।
प्रशिक्षणमा एक पछि अर्को सफल पाइला चालेका सनोजले आफू प्रशिक्षित हुने कुरालाई पनि उत्तिकै निरन्तरता दिई रहे । सन् २०१६ मा उनले एएफसी फुटसल कोर्स लेभल वान गरे । एएफसी फुटसल लेभल वान कोर्स पनि उनले पुरा गरे । यस पछि पनि उनको सफलताको यात्रा रोकिएन । सुनिल श्रेष्ठको असिस्टेन्टको रूपमा साफ यु–१६ टोलीको प्रशिक्षक रहेका उनी काठमाडौँमा भएको साफ यु–१५ टोलीका प्रशिक्षक पनि भए । सन् २०१९ मा उनी चेत नारायण श्रेष्ठको असिस्टेन्ट हुँदै साफ यु–१८ टोली पनि हेरेका थिए ।
यो त भयो उमेर समूहको राष्ट्रिय टोलीका कुरा । ललितपुरकै बि डिभिजन क्लब बि.स २०७० मा सनोजकै प्रशिक्षणमा ए डिभिजनमा उक्लन सफल भयो । ठिक सात वर्ष पछि सनोजको प्रशिक्षणमा सातदोबाटो यूथ क्लब ए डिभिजनमा उक्लन सफल भयो ।
ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगितामा दुई पटक बिबिसी च्याम्पियन बन्न सफल भयो । प्राविधिक रूपमा सो टोलीमा सनोजको योगदान रहेको थियो ।
नेपाली फुटबलका जानिफकारहरू ललितपुर फुटबलमा ४ दशक पछि इतिहास दोहरिएको  प्रतिक्रिया पनि दिन थालेका छन् । ४ दशक अघि जसरी ललितपुरको खेलकुदमा सनोजका बाबु सानुलाल श्रेष्ठको नेतृत्वदायी र अहंम भूमिका रहेको थियो, चार दशक पछि सनोज बेजोड ढङ्गले उभिएका थिए ।
ललितपुरका युवाहरूले थ्री स्टार क्लब स्थापना गरे पछि पुलिस क्लबका पूर्व खेलाडी सानुलालको प्रशिक्षणमा सो क्लब डी डिभिजनबाट बढुवा हुँदै ए डिभिजनमा प्रवेश पाएको थियो ।
त्यसो त काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा नेपालको सफलता धेरैलाई याद छ । त्यसै साग खेलमा ललितपुरका खेलाडीले अझ उत्कृष्ट प्रदर्शन गरेका थिए । ललितपुरका खेलाडीको सामूहिक नेताको रूपमा सो समयमा जिल्ला खेलकुदका अध्यक्ष सानुलाल नै थिए ।
थ्री स्टार  लगायत फुटबल क्लब मात्र होइन कराँतेका स्थापित धेरै डोजोमा जसरी सानुलालको भूमिका र योगदान छ ,त्यसै गरी ललितपुरका धेरै ए डिभिजन क्लबमा सनोजको योगदान रहन गएको छ । नेपाल कराँते महासङ्घको कोशाध्यक्षको जिम्मेवारी पुरा गरिसकेका सानुलालको पथ पछ्याएको सनोज व्यवस्थापकीय रूपमा पनि अग्रणी मानिन्छन् । उनकै अध्यक्षतामा ललितपुर फुटबल एकेडेमी रहेको छ ।
आसन्न नेपाल सुपर लिग(एनएसएल)मा बुटवल लुम्बिनी एफसी सनोजको प्रशिक्षणमा रहेको छ । एक पछि  अर्को सफलता दिलाएका सनोजका लागि यो एउटा चुनौती हो । तर, क्लब, जिल्ला र उमेर समूहमा उत्तिकै सफलता पाएका उनलाई फ्रेन्चाइजले नयाँ उचाइ दिने पक्का छ ।
Comment