सरल र उत्कृष्ट जुनी

जुनी राई । पछिल्लो समय नेपाली उसुकी चर्चित नाम । २९ वर्षीय जुनी १३ औ दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता । सो सागमा नेपालले  ५० स्वर्ण पदकको कोशेढुंगा पार गरेको थियो । यस कारण हरेक स्वर्णपदक धारीको त्यत्ति सारो चर्चा नभएको पनि हुन सक्छ । तथापि जुनीको त्यस स्वर्ण पदक भित्र  थुप्रै विशेषता रहेका छन् ।
१२ औ सागमा उसु सान्सौको ६० किलो तौल समूहमा रजत पदक जितेकी उनले यस पटक ५६ किलो तौल समूह स्वर्ण जितेकी हुन् । यो साग खेलमा नेपालले जितेको सान्सौको महिला तर्फको एक मात्र स्वर्ण पदक हो ।
गत एसियाडमा समेत उत्कृष्ट प्रदर्शन गरेकी उनको खेल जीवन र सङ्घर्षका कथा सायद नेपाली खेलकुदमा जो कोहीका लागि पठनीय र प्रेरणादायी हुन सक्छ ।  नर बहादुर राई र निर माया राई की जेठी छोरी जुनीले कम उमेरमै मातृ शोक सहेकी हुन् । यस कारण बच्चा देखि नै परिवार प्रति जिम्मेवारी थियो ।
पूर्वी नेपालको  इलाम , जहाँ उनी जन्मिएर हुर्किएकी  थिइन्  त्यो स्थान खेलमय थियो । विगत सम्झँदै उनी भन्थिन्, ‘ मङ्गलबारेको त्यो ठुलो स्कुलको मैदान र त्यहाँ हुने खेल गतिविधिको याद सायद कहिल्यै भुल्नै सक्दिन ।’
इलामबाट उनी मावि तहकै अध्ययनको क्रममा बिर्तामोड झरेकी थिइन् । त्यसो त सानो देखि नै स्कुले खेल गतिविधिमा सक्रिय उनले त्यहीँ घनश्याम गुरुङबाट उसु सिक्न सुरु गरिन् । पूर्वाञ्चलबाट छैटौँ राष्ट्रिय खेलकुदमा सहभागी उनी रजत पदक जित्न सफल भइन् । ५६ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी सो समयमा नेपाली खेलकुदमा सेलिब्रेटीको रूपमा स्थापित भइसकेकी झरना गुरुङसँग पराजित भइसकेकी थिइन् । ‘ झरना दिदी नेपालमा स्थापित र सबैले मान्ने खेलाडी हुनु हुन्थ्यो । उहाँ जस्तो स्तरीय खेलाडीसँग खेले पछि ममा एक खाले आत्मबलको विकास भयो । ’ सुरुवाती दिनका ती खेलका बारे जुनीले भनिन् ।
बि.स २०६९ मा उनी नेपाल आर्मी क्लबमा आबद्ध भइन् । राजीव महर्जनको प्रशिक्षणमा आर्मीले एक पछि अर्को सफलता पाउँदै थियो । काठमाडौँमा भएको नवौँ  राष्ट्रिय च्याम्पियनसिपमा आर्मी टिम च्याम्पियन बन्यो भने जुनी पनि आफ्नो स्पर्धामा राष्ट्रिय च्याम्पियनको रूपमा दिइन् । ५२ किलो तौल समूहमा उनी च्याम्पियन भएकी हुन् ।
बि.स ०७२ मा उनी नेपाल प्रहरीमा असई मा भर्ना भइन् । नेपाल प्रहरीमा उसु महत्त्वको खेल थिएन । तर, जुनीको उपस्थितिसँगै पुलिस क्लबमा उसुको स्वरूप निर्माण भइरहेको छ ।
यसै सफलताका कारण उनी लगातार दुई वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले प्रदान गर्ने अवार्डमा उत्कृष्ट उसु खेलाडी भइन् । यी इलामको चेलीलाई झापाले आफ्नै महसुस गर्दै सम्मान गरेको छ । इलाममा त उनी सेलिब्रेटी नै भएकी छिन् । यी यावत सफलता बाबजुद बाल्यकाल र विगत उनले भुलेकी छैनन् । घाँस, दाउरा, कुटो  र कोदालोसँगको त्यो हुर्काइले उनलाई सङ्घर्ष गर्न सिकाएको छ । उनी भन्छिन्, ‘सायद आजको सफलताका कारण त्यहीँ भोगाइ र दुखले दिएको साहस पनि हो । ’
उनका सफलताका कथाहरू आफ्नो ठाउँमा छन् । जुनीको सबैभन्दा महत्त्वपूर्ण विशेषता यो हो की उनी जस्तो स्टार भए पनि आम सामान्य नेपालीले सधैँ आफ्नो प्रतिनिधि पात्र ठान्न सक्छ । त्यहीँ प्रस्तुति, त्यही अनुशासन र त्यही संस्कार जुन उनले बाल्यकालमा घाँस, दाउरा बोक्दा सिकेकी थिइन् । धेरै पाटामा अहिले पनि त्यसतै छिन् । जतिसुकै ठुलो भए पनि पहिलो खुड्किलो र त्यस भन्दा अघिका दिन बिर्सन हुँदैन भन्ने मान्यताकै कारण उनी सवैका लागि सम्मानित पनि छिन् ।
Comment