क्लब लिग भलिबल सुरु


नेपाल भलिबल सङ्घको आयोजना तथा राष्ट्रिय वाणिज्य बैङ्कको मुख्य प्रायोजनमा पाँचौँ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप बिहीबारदेखि सुरु भएको छ ।
दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद माननीय जीवन राम श्रेष्ठले एक कार्यक्रमका बिच अन्तर्राष्ट्रिय रेफ्रि गौतम लासिवालाई भलिबल प्रदान गर्दै उद्घाटन गरे ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले हिजोको दिनमा फुटबलले मात्र प्रायोजन पाउँदै आएकोमा आज आएर भलिबलले पनि प्रायोजन पाउन थालेको छ काम गरेमा प्रायोजन प्राप्त गर्न कठिनाइ नहुने भन्दै त्यसका लागि भलिबल सङ्घलाई बधाई प्रदान गरे । उनले खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने क्रममा खेलाडीहरूले दक्षिण एसियाली खेलमा मात्र होइन अव एसियाली खेलमा पनि भलिबल मार्फत पदक प्राप्त गर्नुका साथै राष्ट्रको नामलाई विश्वमा उजागर गर्नु पर्छ भन्दै खेलाडीहरूलाई हौसला प्रदान गरे ।
राष्ट्रिय वाणिज्य बैङ्कका अध्यक्ष धनीराम शर्माले आफू पनि भलिबल खेलको पारखी रहेको भन्दै भलिबललाई आगामी दिनमा अझ बढी सहयोग पु¥याउने बताए ।
पुलिस र एपिएफको विजयी सुरुवात
आजबाट सुरु भएको लिग भलिबल च्याम्पियनसिपमा विभागीय टोली पुलिस क्लब र एपिएफ क्लबले विजयी सुरुवात गरेका छन् । पुरुषको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लब माथि ३ – ० को जित निकाल्यो । तीनै सेट आफ्नो पक्षमा पार्ने क्रममा पुलिसले २५ – ०९, २५ – २१ र २५ – १६ ले पराजित गर्दै ३ अङ्क बटुल्न सफल भयो ।
एपिएफ क्लब र बुलबुले रारा क्लबबिचको खेल निकै नै प्रतिस्पर्धात्मक रह्यो । एपिएफले बुलबुलेलाई ३ – १ सेटले पराजित ग¥यो । पहिलो र दोस्रो सेटमा बुलबुलेलाई २५ – २०, २८ – २६ ले पराजित गर्दै विजयको निकट पुगेको एपिएफ क्लब तेस्रो सेटमा पराजित हुन पुग्यो । तीन पाकिस्तानी खेलाडी सहित मैदान उत्रेको बुलबुलेले तेस्रो सेटमा एपिएफ माथि २५ – १८ को जित हात पा¥यो । चौथो सेटमा एपिएफले जित निकाल्दै आफ्नो खातामा ३ अङ्क जोड्न सफल भयो । रोमाञ्चक चौथो सेटमा एपिएफले ३२ – ३० को जित निकाल्दै जितलाई आफ्नो पक्षमा पार्न सफल भएको हो ।
महिला तर्फ ह्वाङ्गजी न्यु डायमन्डले पहिलो खेलमा जित हात पार्दै महत्त्वपूर्ण ३ अङ्क बटुल्न सफल भयो । डायमन्डले एकतर्फी खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई २५ – ०६, २५ – ०२ र २५ – ०५ ले पराजित गरेको हो ।

Comment