महिला राष्ट्रिय च्याम्पियनसिपले नयाँ आयाम थपिने आयोजकको विश्वास

सुर्खेतमा आयोजना हुने तेस्रो महिला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तयारी तीव्र रूपमा भई रहेको छ । आयोजक कमिटीकी प्रमुख तथा राष्ट्रिय खेलकुद परिषद्की सदस्य नन्दा बस्याल प्रतियोगिताले कर्णाली प्रदेशमा तेक्वान्दोलाई अझ माथिल्लो उचाइमा पुग्न सहयोग गर्ने तथा महिलाहरूमा तेक्वान्दो खेल प्रतिको जागरण फैलाउने विश्वास व्यक्त गर्छिन् ।
१३ र १४ चैतमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्र नगरको कभर्डहलमा आयोजना हुने सो प्रतियोगितामा पुम्से र ग्योरोगी गरी २४ स्पर्धा समावेश गरिएका छन् । मुख्य प्रायोजकको टुङ्गो केही दिनमा लाग्ने छ । प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद सङ्घको सहयोग रहने छ ।
आयोजक नेपाल तेक्वान्दो सङ्घ, महिला सशक्तीकरणले यो प्रतियोगिता सुरु गरेको ६ वर्ष भई सकेको छ । बि.स २०७१ मा पहिलो संस्करणको आयोजना भएको थियो । यसै समितिकी प्रमुख पाँचौँ डानकी नन्दा  राष्ट्रिय रेफ्रि तथा मास्टर तहको इन्सट्रक्टर समेत हुन् । हाल राष्ट्रिय खेलकुद परिषद्की सदस्य रहेकी नन्दा प्रतियोगिताको सफल आयोजना विभिन्न कारणले महत्त्वपूर्ण भएको बताउँछिन् ।
‘ कर्णाली प्रदेशले यत्ति ठुलो प्रतियोगिताको आयोजना गर्न पाउनु गर्वको विषय हो । यस कारण कर्णाली प्रदेशले नै आफ्नो साखको रूपमा यस प्रतियोगितालाई लिएर सफलताका लागि पहल हुने छ । ’त्यसो त  नेपालको प्रमुख खेल तेक्वान्दोको राष्ट्रको सर्वोच्च खेलकुद निकाय राष्ट्रिय खेलकुद परिषद्मा प्रतिनिधित्व अहिले नन्दाले गरेकी छिन् । यस कारण उनले आयोजना गर्ने कार्यक्रमको सफलताले तेक्वान्दोको साखलाई पनि उठाउने नै छ । साथमा महिला सुदृढीकरणको अभियानमा यो प्रतियोगिता महत्त्वपूर्ण रहेको छ । व्यवस्थापन र खेलाडी मात्र होइन, प्रतियोगिताका रेफ्रि र प्रशिक्षक पनि महिला नै हुने छन् । ‘ महिला सुदृढीकरणको मतलब माग मात्र गर्नु होइन , जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नु पनि हो । यस कारण हामी सबैले आफ्नो योग्यता र दक्षता पुष्टि गर्ने यो एउटा सुनौलो अवसर पनि हो । ’ नन्दाको मत छ ।
बहुमुखी प्रतिभाकी धनी नन्दाका जीवनका अन्य पाटा पनि छन् । कुनै समय टेलिसिरियल झ्याउँ कुटी मार्फत दर्शकमा छाएकी नन्दा डान्स र कोरियो ग्राफीमा पनि उत्तिकै सक्रिय छिन् । मोडलिङ, नृत्य निर्देशन र नृत्यमा समेत उनी त्यत्तिकै पारङ्गत छिन् । सन् २०१८ मा दुबईको एक कार्यक्रममा उत्कृष्ट नृत्य निर्देशकको अवार्ड पाएकी उनले त्यसको एक वर्ष पछि दोहामा भएको कार्यक्रममा वेस्ट मोडलको पुरस्कार पाएकी थिइन् ।
तेक्वान्दोमै खेलाडीको रूपमा उनले आंशिक सफलता पाएकी छिन् । सन् २०१६ मा नेपालमा भएको तेक्वान्दो हाङमादाङमा स्वर्ण विजेता उनी सन् २०१९ मा इन्डोनेसियाको जाकार्तामा रजत पदक जित्न सफल भइन् । सोही वर्ष उनले थाइल्यान्डमा भएको प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् ।
विगतमा राष्ट्रिय च्याम्पियनसिपको स्वरूपमा भएको प्रतियोगिता अहिले खुला भएको छ । यस कारण सहभागिता पनि व्यापक भएको छ । प्रतियोगितामा एसियाली खेलकुदमा सहभागी तथा दक्षिण एसियाली खेलकुदमा पदक जितेका खेलाडी सहभागी हुने छैनन् । च्याम्पियन टोलीले १ लाख ,उप विजयी टोलीले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । सिनीयर र जुनियरका वेस्ट फाइटरले २५ हजार रुपैयाँ पाउने छन् । व्यक्तिगत तर्फ स्वर्ण पदक बापत ३, रजत पदक बापत २ तथा कांस्य पदक बापत १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
४ लाख रुपैयाँ भन्दा बढीको पुरस्कार राशि रहेको प्रतियोगिताको कुल लागत ४५ लाख ६६ हजार ५ सय रुपैयाँ रहेको नन्दा बताउँछिन् । उनले हरेक खेलाडीका लागि आवास तथा भोजनको व्यवस्था आयोजकले नै गर्ने बताउँछिन् । नेपाली खेलकुद र अझ तेक्वान्दो खेलमा महिलाको स्थान माथिल्लो रहेको बताउँदै नन्दा यस प्रतियोगिताले त्यो उचाइमा एक पाइला थप हुने बताउँछिन् । हरेक संस्करणले नयाँ आयाम दिएको बताउँदै महिला सुदृढीकरणको अभियान देशव्यापी रूपमा छाउनेमा पनि नन्दाले विश्वास व्यक्त गरेकी छिन् ।
Comment