२९ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

pv1edited
प्रेमनारायण न्यौपाने
पोखरा
नेपाल पुलिस क्लबले पोखरामा सम्पन्न २९ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। पश्चिमाञ्चल क्षेत्रीय भलिबलको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वावधानमा मड्डलबार पोखरा रड्डशालाको भलिबल कोर्टमा बुधबार भएको फाइनलमा अर्को विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो।
जीतसँगै पुलिसले नगद ५० हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने उपविजेतामा सीमित एपीएफ नगद ३० हजार तीन सय ३३ रुपैयाँमा चित्त बुझायो। तेस्रो स्थान प्राप्त गरेको त्रिभुवन आर्मी क्लबले नगद २० हजार दुई सय २२ रुपैयाँ प्राप्त ग¥यो।
पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने २३–२५ र तेस्रो सेट २२–२५ ले एपीएफलाई सुम्पियो। २–१ को सेटले पछि परेसँगै दबाबमा परेको पुलिसले जित्नैपर्ने चौथो सेट २५–१४ ले सजिलै जित्यो भने पाँचौं सेटमा सुरुवात देखिको अग्रतालाई कायम राख्दै  १५–१२ ले निर्णायक सेटमा जित हात पार्यो । यस अघिका चार वटै सेटमा एपीएफले अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। तथापी पुनंरचनामा रहेको एपीएफ टोली लामो फेरी उपाधि हकदारको रुपमा छबी बनाउन भने सफल भएको छ ।
प्रतियोगितामा एपीएफका मिलन मल्ल बेस्ट स्पाइकर, पुलिसका इम राना बेस्ट सेटर, आर्मीका उमाकान्त केसी बेस्ट डिफेण्डर, पुलिसका ध्रुव पौडेल बेस्ट सर्भर र एपीएफका महेन्द्र श्रेष्ठ बेस्ट ब्लकर घोषित हुँदै ट्रफी र प्रमाणपत्र हात पारे।यस्तै बेस्ट प्लयेर घोषित पुलिसका सञ्जय अर्यालले लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रस्टले बेस्ट प्लयेरलाई हरेक वर्ष प्रदान गर्दै आएको १० हजार रुपैया र सम्मानपत्र प्राप्त गरे भने उनको प्रदर्शनप्रति हौसलास्वरुप नेपाल भलिबल सङ्घका कोषाध्यक्ष निरोज मास्केले पाँच हजार रुपैया प्रदान गरिन्।
उपाधि हात पार्न पुलिसका लागि देव शर्माको १० स्पाइक, एक ब्लक, एक सर्भिस, चन्द्र केसीको १० स्पाइक, एक ब्लक दुई सर्भिस, सञ्जय अर्यालकोे १६ स्पाइक, दुई ब्लक, चार सर्भिस, इम रानाको नौ स्पाइक, पाँच ब्लक, एक सर्भिस, ध्रुव पौडेलको १३ स्पाइक, नौ ब्लक, चार सर्भिस तथा कुलबहादुर थापाको पाँच स्पाइक, तीन ब्लक र छ सर्भिस महŒवपूर्ण रह्यो।
यस्तै एपीएफका सुरेशकुमार चौधरीले १० स्पाइक, एक ब्लक र एक सर्भिस, धनबहादुर भट्ट क्षेत्रीले पाँच स्पाइक, खुसी चौधरीले १० स्पाइक, एक ब्लक, दुई सर्भिस, डाइमनबहादुर बस्नेतले नौ स्पाइक, तीन ब्लक र छ सर्भिस, मिलन मल्लले १० स्पाइक, एक ब्लक, चार सर्भिस तथा महेन्द्र श्रेष्ठले छ स्पाइक, पाँच ब्लब र दुई सर्भिस गरेका थिए।
हारपछि एपीएफका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले आफ्ना खेलाडीहरू बढी आत्मबिश्वासी भएका कारण  हारेको बताए। उनको भनाइ थियो–‘हरेक सेटमा लिडिङ गरे भने ओभरकन्फिडेन्सका कारण हामी हा¥यौं।’ उनले ब्लकमा आफूहरू पछि परेको भन्दै क्वीक स्पाइकर मिलन मल्ल चल्न नसक्दा पनि पराजित भएको बताए।
जीतपछि पुलिसका प्रशिक्षक सुदेश रिमालले टीम समन्वय र ब्लकींगमा राम्रो भएको कारण जीत हात लागेको बताए। उनले भने–‘आज टीममा कुनै पनि बेला कम्बिनेशन देखियो र अपोनेन्टको स्पाइकलाई हाम्रा खेलाडीले ब्लक गर्दै असफल पारिदिए।
विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामा, नेपाल भलिबल सङ्घका अध्यक्ष दानबहादुर तामाङ तथा उपाध्यक्ष मनोरञ्जनरमण शर्मा र यामबहादुर गुरुङ लगायते पुरस्कार प्रदान गरे ।  महासचिव जितेन्द्रबहादुर चन्द, कोषाध्यक्ष निरोज मास्के, सदस्य सुनकेशरी माली र  पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइराला लगायत पुरस्कार वितरण कार्यक्रममा उपस्थित थिए ।
तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चलललाई ३–१ को सेटमा पराजित ग¥यो। पहिलो सेट २५–२१ र दोस्रो सेट २५–१८ ले पक्षमा पारेको आर्मी तेस्रो सेटमा भने २२–२५ ले गुमायो तर चौथो सेटमा २५–१५ ले पछि पार्दै आर्मीले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो। सो खेलमा आर्मीका मोहन खड्का म्यान अफ दी म्याच घोषित भए।
कार्यक्रममा भलिबल खेलको विकास र विस्तारमा योगदान पु¥याएको भन्दै स्थानीय श्रृङ्गा यातायात व्यवसायी सङ्घका अध्यक्ष केदार पौडेल, हरिकुमार श्रेष्ठ र अन्तराष्ट्रिय रेफ्री क्याण्डिडेट कुलबहादुर रानालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
पश्चिमाचल क्षेत्रीय भलिबल सङ्घका अध्यक्ष छ्यामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन डीबी नेपालीले गरेका थिए।फागुन ७ गतेदेखि सञ्चालित प्रतियोगितामा महिलातर्फ पाँच तथा पुरुषतर्फ आठ टीमको सहभागिता रहेको थियो।

Comment