सुरेश र अनिशाले जिते क्रस  दुवाथलन


पुरुष तर्फ सुरेश भुजेल र महिला तर्फ अनिशा गुरुङ कोभिड १९ पश्चात् भएको पहिलो क्रस दुवा लन सिरिजमा प्रथम स्थान हात पार्न सफल भएका छन् ।
नेपाल ट्राईयाथलन सङ्घको आयोजना तथा जम्प नेशनको सहकार्यमा शनिवार नेपालको सबैभन्दा पुराने ऐतिहासिक चाकुको सहर भनेर चिनिने टोखामा भएको सिरिजको पहिलो प्रतिस्पर्धामा ३५ः४० मिनटका साथ भुजेल र ४३ः५४ मिनटका साथ अनिशा पहिलो भएका हुन् ।
नेपालका पहिलो म्याराथन धावक गजराज जोशीको नामले समेत परिचित टोखामा भएको सिरिजका विजयी पुरुष खेलाडीले जिम्बु थकालीको तर्फबाट २ हजार बराबरको भौचर र प्याङ्क  बाइकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग तथा महिला विजयी खेलाडीले काठमाडौँ गेस्ट हाउसको तर्फबाट २ हजार बराबरको भौचर र फ्याँक बाइकको तर्फबाट २ हजार बराबरको फ्रि सर्भिसिङ्ग प्राप्त गरे ।
टोखा सहरको गणेश स्थान देखि चण्डेश्वरी सम्म २.५ कि.मि. दौड, १० कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौडको क्रस दुवाथलनको विजयी खेलाडीहरूलाई प्रमुख अतिथि टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दीपक राज जोशीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
स्थानीय स्तरबाट नै नयाँ खेलाडी उत्पादन गर्ने र कोभिडका कारण विश्वलाई नै आक्रान्त बनाइरहेको अवस्थामा स्थानीय व्यक्तिहरूलाई क्रियाशील बनाउँदै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्दै जाने उद्देश्यले आयोजना गरिएको सिरिजमा पुरुष तर्फ प्रेम सिंह मोया ३७ः०८ मिनट समयका साथ दोस्रो र आइतसिंह तामाङ ३७ः१३ मिनटका साथ तेस्रो भए । यस्तै महिला तर्फ ४८ः४३ समयका साथ सुधा राई र ५२ः३४ मिनटका साथ युश्का महर्जन दोस्रो र तेस्रो भए ।
दोस्रो हुने खेलाडीहरूले क्याफे सिनोको तर्फबाट ५ सय बराबरको भौचर र फ्याँक बाइकको १५ सय बराबरको साइकल मर्मत भौचर तथा तेस्रो हुने खेलाडीले प्यान बाइकको तर्फबाट १ हजार बराबरको साइकल मर्मतको भौचर प्राप्त गरे ।
खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथि टोखा नगरपालिका वडा नं. २ का अध्यक्ष दीपकराज जोशीले ऐतिहासिक सहर टोखालाई महत्त्व दिएर प्रतियोगिता आयोजना गरेकोमा नेपाल ट्राईयाथलन सङ्घलाई धन्यवाद दिँदै आफू पनि खेल क्षेत्रबाटै अगाडी बढेको  भन्दै आगामी दिनमा सङ्घ सँगै सहयात्रा गर्न इच्छुक रहेको बताए ।
नयाँ खेलाडी उत्पादन गर्ने, स्थानीय स्तरमा खेल प्रति जागरण गर्दै स्थानीय खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले आयोजन गरिएको सिरिजमा ट्राईयाथलन सँग आबद्ध खेलाडीहरू भन्दा नयाँ खेलाडीहरूलाई प्राथमिकता दिइएको छ । हामीले स्थानीय स्तरमा युवाहरूलाई खेल प्रति जागरण गर्दै नयाँ खेलाडी उत्पादनका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्देश्यले सिरिजलाई महत्त्वका साथ अगाडी बढाएको सङ्घका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए ।
प्रत्येक दुई दुई हप्ता चार महिना सम्म आयोजना हुने सिरिजको दोस्रो संस्करण माघ १० गते कीर्तिपुरमा आयोजना हुने छ ।
ट्राईयाथलन सङ्घ र जम्प नेशनविच सम्झौता
नेपाल ट्राईयाथलन सङ्घ र जम्प नेशनविच सहकार्य गर्ने सम्झौता भएको छ । पहिलो चरणमा एक वर्षको लागि भएको सम्झौतामा सङ्घले आयोजना गरेको सिरिज र अन्य च्याम्पियनसिप तथा प्रतियोगिताहरूमा ईभेन्ट म्यानेजमेन्ट सम्बन्धी सम्पूर्ण कार्य जम्प नेशनले गर्ने गरी सम्झौता भएको हो ।
आज एक कार्यक्रमबिच नेपाल ट्राईयाथलन सङ्घका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र जम्प नेशनका प्रतिनिधि आशिष् कुलले सम्झौता पत्र आदान प्रदान गरे ।
जम्प नेशन शारीरिक, मानसिक, भावनात्मक र आत्मीयका साथ स्वस्थ समुदाय निर्माण गर्ने उद्देश्यका साथ स्थापित संस्था हो । खेल जीवन मार्फत राष्ट्रको उत्थान गर्ने यसको मुख्य उद्देश्य रहेको छ ।

Comment