रिमालप्रति श्रद्धाञ्जली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० का निर्देशक सुरेशकुमार रिमालको निधनमा शनिवार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो ।
अन्तिम श्रद्धाञ्जली दिन रिमालको पार्थिव शरीरलाई त्रिपुरेश्वरस्थित राखेप हातामा राखिएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्यहरू गोविन्दप्रसाद भट्टराई, सुभाष श्रेष्ठ, इन्दिरा निरौला, नन्दा बस्याल, सम्पन्न श्रेष्ठ, रिम रानाभाट, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल भलिबल सङ्घका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारी, प्रशिक्षक, खेलाडी, कर्मचारी, परिवारजनलगायतले रिमालको पार्थिव शरीरमा पुष्प गुच्छा चढाइ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
रिमालको पार्थिव शरीरमा उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवालले राखेपको झन्डा तथा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा र महासचिव जितेन्द्रबहादुर चन्दले भलिबल सङ्घको झन्डा ओढाएका थिए ।
वीरगन्ज पर्साका रिमालको शुक्रवार बाँसबारीस्थित न्युरो अस्पतालमा ५७ वर्षको उमेरमा निधन भएको थियो । उनी टाउकोको समस्याबाट ग्रसित थिए । २०५० सालमा राखेमा भलिबल प्रशिक्षकका रूपमा सेवा प्रवेश गरेका रिमाल त्यसअघि नेपाल विद्युत् प्राधिकरणमा कार्यरत रहेर भलिबल खेलेका थिए । राखेमा भलिबलका प्रमुख प्रशिक्षकको जिम्मेवारी समेत सम्हालेका रिमालले नेपाली सेना र नेपाल प्रहरीमा पनि प्रशिक्षकका रूपमा कार्य गरेका थिए । उनले १९८६ मा दक्षिण कोरियाको सिओलमा भएको एसियाली खेलकुद खेलेका थिए । रिमालको प्रशिक्षणमा नेपालले विभिन्न संस्करणको सागमा पदक जितेको छ ।
उपाध्यक्ष कोइरालाले रिमालको निधनमा उनले पूरा गर्न नसकेको कामलाई उनका सहकर्मीले पूरा गर्न प्रतिबद्धता भएर अगाडि बढ्नु पर्ने धारणा राखे ।
सदस्य–सचिव सिलवालले रिमाल एक कुशल प्रशिक्षक भएको बताउँदै उनको निधनले भलिबलमा अपूरणीय क्षति पुगेको बताए । उनले रिमालको निधनको शोकमा आइतबार खेलकुदका कार्यालय बन्द गर्ने जानकारी दिए ।
भलिबल सङ्घका अध्यक्ष शर्माले भलिबलको असल र कुशल प्रशिक्षकलाई गुमाउनु पर्दा निकै दुखित भएको बताउँदै भलिबलले अपूरणीय क्षति बेहोर्नु परेको बताए ।
दिवङ्गत रिमालको शनिवारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । रिमालका श्रीमती, छोरा र छोरी छन् ।
Comment