खेलकुदले सधैँ सम्झी रहने छ प्रशिक्षक ईश्वरलाई 

पौडीका नायब वरिष्ठ प्रशिक्षक ईश्वर कार्कीलाई बिदाइ तथा सम्मान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्मा अनवरत लामो समय सम्म कार्यरत रही उमेर हदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाइ तथा सम्मान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बि.क.ले एक कार्यक्रमका बिच कार्कीलाई प्रशंसा पत्र प्रदान गर्दै बिदाइ तथा सम्मान गरेका थिए । यस्तै कार्कीलाई पौडी पोखरीका प्रमुख एवं कार्यक्रमका सभापति टार्जन सुब्बाले अबिर र राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्र राईले माला लगाएर बिदाइ गरेका थिए । विदाइका क्रममा बोल्दै प्रमुख अर्जुन् बि.क.ले कार्कीले पौडी खेलको विकासमा गरेको योगदानको चर्चा गर्दै उमेर हदका कारण अनिवार्य अवकाश भएता पनि कार्कीले खेल क्षेत्रलाई अझ सहयोग प्रदान गरिनै रहने र पौडी तथा खेल क्षेत्रको विकासमा अनवरत लागी नै रहने विश्वास व्यक्त गरे ।
नायब वरिष्ठ पौडी प्रशिक्षक कार्की उमेर हदका कारण आइतबार सेवा निवृत्त भएका हुन् । कार्कीलाई नायव वरिष्ठ पौडी प्रशिक्षक एवं पूर्व प्रमुख प्रशिक्षक वाङ्गदेन लामाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै प्रमुख प्रशिक्षक शङ्कर कार्की, प्रशिक्षक द्वय रत्न महर्जन र नयना शाक्यले मायाको चिनो प्रदान गर्दै तथा वासुदेव निरौलाले माला लगाई बिदाइ तथा सम्मान गरेका थिए । सम्मानमा पौडीकर्मी वासुदेव निरौलाको पनि संलग्नता थियो ।
कार्यक्रममा तालिम तथा प्रशिक्षण विभाग, खेलकुद विज्ञान प्रतिष्ठान, निर्देशक, उपनिर्देशक, विभिन्न खेलका प्रमुख प्रशिक्षक, प्रशिक्षक र कर्मचारीहरूले कार्कीलाई अबिर तथा खादा लगाई सम्मान गरेका थिए ।
भारतको नेताजी सुभाष चन्द्र बोस स्पोर्ट्स इन्स्टिच्युटबाट १९९० मा स्पोर्ट्समा डिप्लोमा गरेका कार्की २०५० सालमा पौडी प्रशिक्षकको रूपमा राष्ट्रिय खेलकुद परिषद्मा प्रवेश गरेका थिए । २०६३ मा नायव वरिष्ठ पौडी प्रशिक्षकमा बढुवा भएका कार्की २०५७ देखि २०७१ सम्म पौडीका प्रमुख प्रशिक्षक रहेका थिए ।
२०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुदमा पौडी खेलाडीको रूपमा खेल क्षेत्रमा प्रवेश गरेका कार्की १९८२ मा दिल्लीमा आयोजना भएको नवौँ एसियाली खेलकुदमा खेलाडीका रूपमा सहभागी भएका थिए । यस्तै काठमाडौँमा १९८४ मा आयोजना भएको प्रथम दक्षिण एसियाली खेलकुदमा ४ गुणा १०० मिटर मिड्ले रिलेमा कांस्य पदक प्राप्त गर्न सफल भएका थिए ।
८ औँ र १३ औँ दक्षिण एसियाली खेलकुदमा पौडीबाट नेपालका लागि स्वर्ण पदक दिलाउन कार्कीको ठुलो भूमिका रहेको छ । यस्तै नेपालमा उत्कृष्ट पौडी खेलाडी उत्पादन गर्न कार्कीको निकै ठुलो योगदान रहेको छ । पौडी प्रशिक्षकका रूपमा विभिन्न देशको भ्रमण गरेका कार्कीले एसिया प्यासिफिक पौडी प्रतियोगितामा प्रशिक्षण प्रदान गरी नेपाललाई पदक दिलाउन सफल भएका थिए । उनले रियो ओलम्पिक –२०१६ मा प्रशिक्षकका रूपमा सहभागिता जनाउनुका साथै विभिन्न विश्व पौडी प्रतियोगितामा प्रशिक्षकका रूपमा सहभागिता जनाएका थिए ।
नेपाली पौडी प्रशिक्षकका माझ ईश्वरका केही भिन्न विशेषता र छवि रहे ।  कार्यरत रहँदा शक्तिको चाकडी र चाप्लुसी गर्ने भन्दा प्रस्ट आफ्ना अडान राख्न सक्ने प्रशिक्षकको रूपमा उनले आफ्नो छवि राखेका थिए ।
आफूले खेलकुदकै माध्यमबाट जीवन निर्वाह गरे पनि आफू र आफ्ना परिवार प्रति खेलकुद प्रति सकारात्मक धारणा जगाउन धेरै खेलकर्मी असफल रहेकोमा कार्की यसमा भिन्न रहे । यसैको फलस्वरूप उनका चार सन्तान नेपालका परिचित खेलाडी रहे ।
छोरी करिश्मा कार्की ओलम्पियन हुन् भने किरण कार्की दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउन सफल भएका थिए । यसै गरी उनका अन्य दुई सन्तान पनि राष्ट्रिय खेलाडी हुन् । साथै करिश्माले एकै राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पदक जित्दै सनसनी फैलाएकी थिइन् ।
नेपाली खेलकुदमा थुप्रै कर्मचारीको उपस्थिति स्वाभाविक रहे पनि नेपाली खेलकुदले सधैँ सम्झी रहेन नामको रूपमा ईश्वर कार्की रहेको छ । सन् २००० को दशकमा टिम गेम र मार्सल आर्टको दबदबा रहेको समयमा ईश्वर कार्की पौडीका मुख्य प्रशिक्षक थिए । परन्तु सोही समयमा उत्पादित नयना शाक्य लगायत खेलाडीको स्टार डमका कारण आम जनमानसमा पौडीको प्रभाव यथावतै रहेको थियो ।
Comment