एउटा खेलकुद परिवार

पारस माझी कुनै समय नेपाली फुटबलका स्टार रक्षक । उनको व्यवसायी फुटबल जीवनको दायरा नेपालमा मात्र
सीमित भएन । दक्षिण एसियामा नै परिचित र भिन्न खाले छवि भएका रक्षक थिए,उनी । सो समय थियो ४० को दशकको अन्त्य र ५० को दशकको सुरुवातमा ।
उषा करण नेपालकी सबैभन्दा गतिशील महिला थिइन् । नेपाली खेलकुदको इतिहास पढ्नेका लागि उषा करण अझ  गर्व  र सम्मान गर्न लायक नाम हो । एउटा संयोग मान्न पर्छ जुन समयमा विश्व एथलेटिक्समा नै स्प्रीन्टरले  जम्पमा पनि प्रभाव जमाएका थिए सोही समयमा नेपालमा उषाको स्प्रीन्ट र जम्पमा उस्तै प्रभाव थियो ।
ती समयका ती स्टारका जीवनमा धेरै कोल्टे फेरिएको छ । मास गेमको खेलाडी भएका कारण व्यवसायकी सफलता पाएका तथा लोकप्रियता कमाएका पारस र क्लास गेमको खेलाडी भएका कारण त्यत्तिकै स्तरीय खेलाडीको छवि भएको उषा नेपाली खेलकुदमा केही आदर्श दम्पती मध्यका एक दम्पतीको रूपमा परिचित छन् । जसको सिङ्गो परिवार अहिले खेलकुद मय भएको छ ।  पारस र उषा प्रशिक्षकको रूपमा सक्रिय छन् । पारसले विभिन्न उमेर समूह र महिला तर्फको राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाली सकेका छन् । उषाले पनि प्रशिक्षकको रूपमा थुप्रै राम्रा खेलाडी उत्पादन गरिसकेकी छिन् ।
यसै परिवारको प्रभाव फुटबल मैदान र  ट्र्याकबाट फैलिएर ¥याकेट र कोर्टसम्म पुगेको छ । उनीहरूको २५ बर्सिया छोरी जर्जीया चौधरी सफ्ट टेनिसकी अन्तर्राष्ट्रिय खेलाडी तथा टेनिसकी राष्ट्रिय खेलाडी । टेनिसकै प्रशिक्षण कोर्स समेत उनले पुरा गरेकी छिन् ।
पहिलो पटक लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता जनाए पछि उनको फड्को सुरु भएको थियो । प्रशिक्षक राजेश बोहराको सद्भाव  मार्फत उनको सहभागिताको बाटो तय भएको थियो । थुप्रै पटक जिल्ला स्तरमा प्रथम तथा राष्ट्रिय स्तरमा दोस्रो या तेस्रो स्थान हात पारिन् ।  यस पछि भएको सातौँ राष्ट्रिय खेलकुदमा उनले मिक्स डबल्समा तेस्रो स्थान पाएकी थिइन् । महिला टिम इभेन्टमा पनि उनी सहितको पूर्वाञ्चल तेस्रो भएको थियो । आठौँ राष्ट्रिय खेलकुदमा सोही स्पर्धामा उनले दोस्रो स्थान हात पारिन् । यसै गरी, २०७४ मा भएको राखेप च्याम्पियनसिप तथा आठौँ राष्ट्रिय खेलकुदको महिला टिम इभेन्टमा उनले दोस्रो स्थान प्राप्त गरिन् । एनके ओपन सफ्ट टेनिस प्रतियोगितामा उनले पाएको रजत पदकले उनलाई एक स्थान माथि उठाएको थियो ।
सन् २०१५ को नोभेम्बर त उनका लागि महत्त्वपूर्ण बनेको थियो  । भारतको नयाँ दिल्लीमा भएको १५ औ विश्व सफ्ट टेनिस च्याम्पियनसिपमा उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । सन् २०१७ मा जापानमा भएको पहिलो एसिया कपमा पनि उनी सहभागी थिइन् । त्यसै गरी इन्डोनेसियामा भएको एसियाडमा पनि उनको सहभागिता रहेको थियो । खेलाडी जीवनसँगै प्रशिक्षण जीवन पनि सुरुवात गर्ने सोच बनाएकी जर्जीयाले भारतबाट लन टेनिसमा एनआइएस गरेकी छिन् ।
एउटा स्टार फुटबलर र धाविकाको छोरी भए पनि उनमा खेल छनोटको दबाब कहिल्यै पनि परेन । उनका अभिभावकले एथलेटिक्स, फुटबल या अन्य कुनै खेल रोज्ने तथा अन्य क्यारियर रोज्ने सबै छुट उनलाई थियो । राइस मिल या स्पोर्ट्स सप पनि भएका कारण सबै विकल्प थिए । अहिले स्पोर्टस सपमा उनको निगरानी रहेको छ । कम उमेरमै देखिएको यो परिपक्वताले उनका अभिभावक पनि यसै दङ्ग । त्यसो त जर्जीयाका भाइ दिवाकर चौधरी फुटबलर हुन् । ए डिभिजन क्लब फ्रेन्ड्सको अनुभव उनीसँग छ ।
नेपाली खेलकुदमा स्वर्णिम र आदर्श जोडी धेरै छन् । तर, मोरङको यो चौधरी परिवार यस्तो खेलकुदमय परिवार हो, जसको प्रभाव वर्षौँसम्म रङ्गशालाको ट्र्याक, विदेशी लिग र तारे होटेलका कोर्टसम्म उत्तिकै रहेको छ ।
Comment