उद्घाटन खेलमा न्यू डायमण्डद्वारा पुलिस पराजित

ladies volleyball
पोखरा
पश्चिमाञ्चल क्षेत्रीय भलिबलको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वावधानमा बिहीबारदेखि पोखरामा २९ औं राष्ट्रिय पुरुष तथा चौथो महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ।
उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड एकेडेमीले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। प्रतिभा माली र रमिला तण्डुकारको उत्कृष्ट प्रदर्शनमा न्यू डायमण्डले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको हो।समूह ए मा न्यू डायमण्ड, पुलिस र उत्तरप्रदेश भारतको टीम रहेका छ भने समूह बी मा त्रिभुवन आर्मी क्लब अन्तिम समयमा सहभागी नभएको हुँदा एपीएफ र पश्चिमाञ्चल टीम मात्र रहेका छन्।
शुक्रबार पुरुषतर्फ बिहान एपीएफ र सुदूरपश्चिमाञ्चलबीच बिहान साढे सात बजे पहिलो, पुलिस र मध्यमाञ्चलबीच साढे नौ बजे दोस्रो, त्रिभुवन आर्मी क्लब र पूर्वाञ्चलबीच साढे ११ बजे तेस्रो, महिलातर्फ उत्तरप्रदेशको टीम र न्यू डायमण्ड एकेडेमीबीच दिउँसो साढे एक बजे पहिलो तथा एपीएफ र पश्चिमाञ्चलबीच दिउँसो साढे तीन बजे दोस्रो खेल हुने पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका सचिव डीबी नेपालीले जानकारी दिए।
यसअघि अन्तर्राष्ट्रिय रेफ्री क्याण्डिडेट कुलबहादुर रानालाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्दै प्रमख अतिथि नेपाल क्रिकेट सङ्घका कार्यबाहक अध्यक्ष एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष दीपक कोइरालाले भलिबल खेलले पोखराको जनमानसमा राम्रो छाप पार्न सफल भएको बताए। उनले निर्माणाधीन कभर्ड हल सम्पन्न भएपछि आगामी वर्षदेखि भलिबललगायत सम्पूर्ण इण्डोर खेलसोही ठाउँमा खेलाइने बताए।
कार्यक्रममा अफियलको तर्फबाट अन्तर्राष्ट्रिय रेफ्री क्याण्डिडेट कुलबहादुर राना र खेलाडीको तर्फबाट पश्चिमाञ्चल टीमका कप्तान मञ्जु गुरुङले सपथग्रहण गरेका थिए।पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका अध्यक्ष छ्यामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डीबी नेपालीले गरेका थिए।
सो अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीलाई सङ्घको तर्फबाट १२ थान भलिबल तथा १८ थान फुटबल जर्सी प्रदन गरिएको थियो। सङ्घका अध्यक्ष छ्यामबहादुर थापा र प्रमुख अतिथि कोइरालाले मञ्चका अध्यक्ष प्रेमनारायण न्यौपानेलाई सो जर्सी हस्तान्तरण गरेका थिए।
रबर म्याटमा फागुन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ पाँच विकास क्षेत्रका पाँच टीम, एक विश्वविद्यालय र विभागीय तीन टीम गरी नौ टीमको सहभागिता रहेको छ।
लिगकम नकआउटका आधारमा फिभको नियमअनुसार खेलाइने दुवै इभेन्टमा प्रथम हुनेलाई जनही नगद ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।यस्तै बेस्ट प्लयेर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट क्वीकरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ।
पुरुषतर्फको खेल फागुन ९ गतेबाट खेलाइने प्रतियोगिता हेर्न दर्शकको लागि क्वाटरफाइनलसम्म एक सय, सेमिफाइनलसम्म एक सय ५० र फाइनलमा दुई सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ। दर्शकको सुविधाको लागि अस्थायी प्यारापिटलाई तारबारले घेरी प्रतियोगितास्थललाई व्यवस्थित गरिएको छ। प्रतियोगिता सञ्चालन गर्न २८ लाख ७४ हजार दुई सय २० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।बचत रकम यस क्षेत्रका महिला भलिबल खेलाडीको विकासको लागि खर्च गरिनेछ
तस्विर सौजन्य ः उमेश पुन

Comment