एसियन जुनियर अनलाइन चेसमा नेपाल

एसियन चेस महासङ्घको आयोजनामा सञ्चालित एसियन जुनियर एन्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिप २०२० मा नेपालले सहभागिता जनाएको छ ।
कोभिड १९ ले विश्वलाई आक्रान्त बनाइरहेको अवसरमा आफ्ना सदस्य राष्ट्रका खेलाडीहरूलाई क्रियाशील गर्दै मानसिक पिडाबाट मुक्त गराउँदै स्वस्थ बनाउने उद्देश्यले २७ मे देखि ४ जुन सम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपालबाट पुरुष तर्फ अबिश्र श्रेष्ठ, विवेक श्रेष्ठ र निकेन कुसथाको सहभागिता रहेको छ । गल्र्स तर्फ खुस्बु थापा, अनिषा न्यौपाने र कृति सरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस सङ्घ महिला कमिसनकी प्रमुख मोनालिसा खुम्बुले जानकारी गराएकी छिन् ।
प्रतियोगिता स्विस प्रणाली अन्तरगत ९ चरणको हुने छ । ३.२ जोन अन्तरगत हुने प्रतिस्पर्धामा नेपाल लगायत बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र मालदिभ्स गरी ५ राष्ट्रले सहभागिता जनाउने छन् । च्याम्पियनसिपमा प्रत्येक राष्ट्रका तीन पुरुष र तीन महिला खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउने छन् । च्याम्पियनसिपमा फिडेका ३.१, ३.२, ३.३, ३.४, ३.६ र ३.७ गरी ६ जोनका छनोट चरणका खेल हुने छन् । प्रत्येक जोनमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरू फाइनल चरणका लागि छनोट हुने छन् । फाइनल चरण पनि स्विस प्रणाली मानै ९ चरणकै हुने आयोजकले जनाएको छ । छात्रा तर्फ शीर्ष तीन फाइनल चरणका लागि छनोट हुने छन् । खुला जुनियर शीर्ष तीन भित्र पर्ने छात्रा खेलाडीले जुनियर अथवा छात्रा च्याम्पियनसिप फाइनल चरण दुई मध्ये एक छान्न पाउनेछन् र यदि छात्रा च्याम्पियनसिपलाई छनोट गरेमा चौथो स्थान प्राप्त गर्ने खेलाडी जुनियर फाइनल चरणका लागि छनोट हुने छन् । फाइनल चरण पनि स्विस प्रणाली अन्तरगत ९ चरणकै हुने आयोजकले जनाएका छन् ।
नेपाल रहेको जोनको प्रतियोगिता बंगलादेश समय अनुसार बिहान १० बजे देखि अपराह्न ३ बजे सम्म हुने छ । कुनै पनि खेलाडीहरूले आर्बिटरको अनुमति बेगर आफ्नो कुर्सी छोड्न पाउने छैनन् ।नेपालबाट सहभागी हुने खेलाडीमा खुस्बु ओलम्पियाड खेलाडी हुन् भने कृत्तिसरा गत राष्ट्रिय च्याम्पियनसिपमा तेस्रो स्थान पाउन सफल खेलाडी हुन् । यी दुवै डाइनामिक चेस एकेडेमीका खेलाडी हुन ।
विजेतालाई एसियन जुनियर (छात्रा) अनलाइन चेस च्याम्पियनसिप २०२० घोषित गरिनुका साथै शीर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर, स्वर्ण, रजत र कांस्य, तथा प्रमाण पत्र प्रदान गरिने छ । यस्तै महिला तर्फ शीर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कारका सहित स्वर्ण, रजत र कास्यका साथै प्रमाण पत्र प्राप्त गर्ने छन् ।
यस्तै नेपाल चेस सङ्घले वैकल्पिक खेलाडीहरूलाई अनलाईनल मार्फत हुने च्याम्पियनसिपलाई अध्ययन गर्न र अनलाइन मार्फत नै जुनियर खेलाडीहरूलाई विभिन्न प्रशिक्षण कार्यक्रमका साथै युथ ईम्पावरमेन्ट सेमिनार पनि सञ्चालन गरिरहेको छ ।

Comment