अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिता बिहिबार देखि

volleyball
पोखरा
पश्चिमाञ्चल क्षेत्रीय भलिबलको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वावधानमा यही फागुन ७ गतेदेखि पोखरामा २९ औं राष्ट्रिय पुरुष तथा चौथो महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।
फागुन १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ पाँच विकास क्षेत्रका पाँच टीम, एक विश्वविद्यालय र विभागीय तीन टीम गरी नौ टीम तथा महिलातर्फ तीनवटा विभागीय टीम, भारतको एक टीम, न्यू डायमण्ड एकेडेमी र आयोजक पश्चिमाञ्चल गरी छ टीमको सहभागिता रहने जनाइएको छ ।
लिगकम नकाउटको आधारमा फिभको नियमअनुसार खेलाइने दुवै इभेन्टमा प्रथम हुनेलाई जनही नगद ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।यस्तै बेस्ट प्लयेर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट क्वीकरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका सचिव डीबी नेपालीले जानकारी दिए।
महिलातर्फको खेल फागुन ७ गते तथा पुरुषतर्फको खेल फागुन ९ गतेबाट खेलाइने छ । प्रतियोगिता हेर्न दर्शकको लागि क्वाटरफाइनलसम्म एक सय, सेमिफाइनलसम्म एक सय ५० र फाइनलमा दुई सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ।दर्शकको सुविधाको लागि अस्थायी प्यारापिटलाई तारबारले घेरी प्रतियोगितास्थललाई व्यवस्थित गरिने आयोजकले जनाएको छ। यस्तै काठमाडौंबाट रबर म्याट ल्याई खेलमैदानमा विछ्याइसकिएको छ। प्रतियोगिता सञ्चालन गर्न २८ लाख ७४ हजार दुई सय २० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।बचत रकम यस क्षेत्रका महिला भलिबल खेलाडीको विकासको लागि खर्च गरिनेछ।
प्रतियोगिता सम्पन्न गर्न सङ्घका अध्यक्ष छ्यामबहादुर थापाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।
तेस्रो संस्करणसम्म सोचेजस्तो भारतीय महिला टीम नआएको र यसपटक नेपाल भलिबल सङ्घसँग समन्वय गरी यसपटक राम्रो टीम ल्याउन लागिएको नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष याम गुरुङले जानकारी दिए। उनले भने–‘अघिल्लोपटकसम्म व्यक्तिसँग सम्पर्क गरे टीम ल्याइन्थ्यो, यसपटक संस्थासँग समन्वय गरेर ल्याउन लागिएको छ। साफ गेमका बेला भारतीय भलिबल महासङ्घसँग कुराकानी भएको थियो, आशा गरौं, यसपटक राम्रो टीम आउँछ।’ उनले त्रिभुवन आर्मी क्लबको महिला टीम पनि पोखरामा पहिलोपटक खेल्न आउने बताए। यस्तै एसियाली भलिबल महासङ्घका उपाध्यक्ष फाइनल खेल हेर्न आउने जानकारी दिए।

Comment