पाथीभरा बुद्धिचालमा उपाधिको होड खुल्ला

ताप्लेजुङको फुगंलिङ्ग बजारमा जारी पाथीभरा अन्तर्राष्ट्रिय खुल्ला बुद्धिचाल प्रतियोगिताको आठौँ चरणको खेल सम्पन्न हुँदा उपाधिको होड खुल्ला वनेको छ । एक चरण बाँकी रहँदा नेपालका सुमित पन्त भारतका थेण्डुप तामाङ र राघव श्री वास्तव समान ६.५ अङ्क सहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् ।
प्रतियोगिता अवधि भर उत्कृष्ट प्रदर्शन गरिरहेका सुमितले डिफेन्डिङ्ग च्याम्पियन थेण्डुप तामाङ सँग सातौँ चरणको खेलमा बराबरी खेले । निकै आक्रामक खेलेका सुमितले जितका लागि निरन्तर प्रयास गरे । रक्षात्मक रहेका थेण्डुपले खेलमा बराबरी गर्न सफल रहे । उनले आठौँ चरणको खेलमा सुमन राईलाई पराजित गरे । दुवै खेलमा बराबरी खेलेका थेण्डुपले आठौँ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन भूपेन्द्र निरौला सँग पनि बराबरी खेले ।
त्यस्तै प्रतियोगितामा राम्रो खेलिरहेका श्रीवास्तवले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीलाई सातौँ चरणको खेलमा निराश बनाए भने आठौँ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामा सँग बराबरी खेले ।
त्यसै गरी पूर्व नेपाल च्याम्पियनहरू बद्रीलाल नेपाली, सुरवीर लामा र भूपेन्द्र निरौला ६ अङ्कका साथ संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । मिश्रित प्रदर्शन गरिरहेका बद्रीलाल नेपाली सातौँ चरणको खेलमा राघव श्री वास्तव सँग हारे भने आठौँ चरणको खेलमा प्रतियोगिताका उच्च बरीयताका खेलाडी हरिश शर्मालाई पराजित गर्न सफल भए । दुवै खेलमा बराबरी खेलेका सुरवीरले सातौँ चरणको खेलमा भूपेन्द्र सँग बराबरी गरेका थिए । भूपेन्द्रले आठौँ चरणको खेलमा थेण्डुपसंग बराबरी खेले ।
नेपालका राजन सुवेदी, कृष्ण थापा, उमेश साह, प्रकाश नेपाल भारतका राहुल कुमार, मुकेश मण्डोलोई, रोहित गुरुङ र ऋषभ निषादले ५.५ अङ्क हात पारेका छन् ।
कुल ६ लाख २६ हजार पुरस्कार राशि रहेको प्रतियोगितामा विजेताले ६० हजार उप–विजेताले ५० हजार र तेस्रोले ४० हजार हात पार्ने छन् ।
ताप्लेजुङ बुद्धिचाल सङ्घको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बिहीबार अन्तिम चरणको खेल हुने छ ।

Comment