सानै उमेरमा प्रतिभाकी खानी अन्भी

रवि शाही, तीन दशक अघि नै नेपाली खेलकुदका प्रतिभा साली खेलाडी । समय घटनाक्रमले धेरै कोल्टे फेरेको छ । रवि हाल कराँतेको रेफ्रि र व्यवस्थापकीय क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएका छन् । उनले एसियाली गोजुरियो कराँते रेफ्रि कमिसनको महासचिवको रूपमा आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गरिसकेका छन् ।
रञ्जिता रिजाल, नेपाली गोजुरियो करातेमा सुरुवाती दिनबाट छाएका प्रतिभा साली खेलाडी मध्यकी एक । तीनै रवि र रञ्जिताको छोरी अन्भी शाही अहिले बाबु आमाको पथलाई पछ्याउँदै कराँतेको दुनियाँमा आफूलाई स्थापित गर्दै छिन् ।


उमेर ५ वर्ष पुरा हुँदै छ । तथापि नेपाली करातेमा उनी चाडै नै स्थापित हुने कुरामा उनका अभिभावक आशावादी छन् । रवि भन्छन्, “ यत्ति सानो उमेरमा उनको खेल शैली र प्रतिभाले म उत्साहित भएको छु । ” केही समय अघि एभरेस्ट मार्सल आर्ट प्रशिक्षण केन्द्रले आयोजना गरेको प्रतियोगितामा उनी १५ किलो मुनीको तौल समूहमा स्वर्ण पदक जित्न सफल भएकी हुन् । आफूले खेलेको पहिलो प्रतियोगितामै सफलता पाएकी उनले कराँते सिक्न थालेको एक वर्ष हुन थालेको छ ।
२०१५ जुलाईमा संयुक्त अरब इमिरेट्सको बर दुबईमा जन्मिएकी अन्भीले त्यहाँ रहँदा नै अभिभावकको कारण सामान्य कराँतेको ज्ञान लिएकी थिइन् । नेपाल आए पछि आमा बाबुले स्थापना गरेको एभरेस्ट प्रशिक्षण केन्द्रमा नै नियमित प्रशिक्षण गर्न थालिन् । यो प्रशिक्षण केन्द्र छोटो समयमा राम्रा खेलाडी उत्पादन गर्न पनि सफल भएको छ । यहाँ खेलिरहेका र अहिले उत्पादन भएका धेरै खेलाडी छोटो समयमा नेपाली करातेमा छाउने अपेक्षा गरिएको छ । यी नै मध्यकी एक हुन्, अन्भी ।
नेपालमा छोटो समयमा ब्ल्याक बेल्ट पाउने पनि नभएका होइनन् । अन्भीको हकमा जत्ति प्रतिभा भए पनि उमेर र खेलेको समय पाँच वर्ष नभएसम्म ब्ल्याक बेल्ट उपलब्ध नगराउने पक्षमा उनका प्रशिक्षक समेत रहेका बाबु रवि छन् । नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने कुरामा समेत रवि धेरै नै आशावादी छन् । आशा गरौँ, अबको दशकमा अन्भीको रूपमा नेपाली करातेले एउटा प्रतिभाशाली खेलाडी पाउने छ ।

Comment