शङ्कर भन्छन्, “सबैको सहकार्यमा यो सम्भव भएको हो ”

कुनै समय थियो, नेपाली पौडीलाई त्यत्ति धेरै महत्त्व दिइएको थिएन । साँचो भन्नु पर्दा चर्चा गर्न पर्ने प्रदर्शन पनि गरेको थिएन । काठमाडौँमा भएको १३ औ दक्षिण एसियाली खेलकुद पछि नेपाली पौडीको परिचय फेरिएको छ । यसै प्रतियोगितामा नेपालले चार स्वर्ण,चार रजत र चार कांस्य पदक हात पारेको थियो । गौरीका सिंहले चार स्वर्ण जितेकी थिइन् । यसै गरी, गौरीका सिंह र डुवाना लामाले दुई दुई रजत पदक जिते । महिला तर्फको तीन वटै रिलेमा नेपालले कांस्य पदक जितेको थियो भने टिसा शाक्यले एक कांस्य पदक जितेकी थिइन् ।


नेपाली पौडीको हकमा यो उपलब्धि चानचुने होइन । विगतका अन्य संस्करणका नतिजालाई आधार मान्दा यो सफलता ऐतिहासिक हो । यसै महत्त्वपूर्ण उपलब्धि पाउँदा टोलीको प्राविधिक नेतृत्व गरेका मुख्य प्रशिक्षक शङ्कर कार्की सबैको समूहगत प्रयासका कारण यो सम्भव भएको बताउँछन् । प्रतियोगितामा सहभागी सबै खेलाडीले गरेको प्रदर्शन उत्साहपूर्ण भएको तथा नेपालमा स्तरीय खेलाडी भएको छुट्टै पहिचान दिन आफूहरू सफल भएको उनी बताउँछन् । स्मरणीय छ, यसै सागमा नेपाली पुरुष टोलीले पदक नजिते पनि सबै खेलाडीले आफ्नो समयमा सुधार गरेका थिए । यसै टोलीका एलेक्स जेन्डर शाह,सैयद हम्जा,अनुभव सुब्बा र तेन्जीङ रायन लगायतको उदयले १४ औ सागसम्म पुग्दा नेपाली पुरुष टोलीको पनि पृथक् पहिचान बन्नेमा उनी विश्वस्त छन् ।
व्यवसायीक कारणले बनेको हिटिङ पुलमा नियमित अभ्यासका कारण यो सम्भव भएको उनी बताउँछन् । प्रशिक्षणलाई सफल बनाउन राखेप, संलग्न प्रशिक्षकहरू, खेलाडी, सङ्घ अधिकारी तथा अभिभावकको सामुहीक प्रयासका कारण आफूहरू सफल भएको उनको मत छ । राष्ट्रिय खेलकुद परिषद्ले मुख्य प्रशिक्षकको जिम्मेवारी दिए पछि एसियाडका साथै अन्य थुप्रै प्रतियोगितामा नेपाली टोलीले सहभागिता जनाएको थियो । यहाँका हरेक उपलब्धिलाई उनले नजिकबाट हेरेका थिए । यस क्रममा सर्टकोर्ष विश्व च्याम्पियनसिप २०१९ चीन तथा विश्व च्याम्पियनसिप कोरिया २०१९ मा नेपाली टोली सहभागी थियो । यस अघि नै जुनियर सिंगापुर पौडी च्याम्पियनसिपमा नेपालले सहभागिता जनाएको थियो । हंगेरीको बुढापेस्टमा भएको विश्व जुनियर पौडी च्याम्पियनसिप र भारतमा भएको एसियाली उमेर समूह पौडी च्याम्पियनसिपमा नेपाल सहभागी थियो ।


यस बिचमा नेपाल ओलम्पिक कमिटी र राखेको सहयोगमा जापानमा चार खेलाडीलाई एक महिने प्रशिक्षण दिलाउन नेपाल पौडी सफल भएको थियो । यसै गरी,कतारमा १५ दिनका निम्ति दुई खेलाडीलाई प्रशिक्षणको व्यवस्था दिन नेपाली पौडी सफल भएको थियो । आफ्ना कार्यकालमा यी सबै भएकोमा उनी आफूलाई भाग्यमानी सम्झन्छन् । यस बिचमा विदेशी प्रशिक्षक ल्याएर गाइएको प्रशिक्षणले खेलाडीले राम्रो प्रदर्शन र मनोबल बढेको उनको भनाइ छ ।
नेपालले छोटो समयमा यत्ति धेरै प्रतियोगितामा सहभागिता जनाएकै कारण आत्मविश्वासमा वृद्धि भएको थियो भने हरेक वैदेशिक प्रशिक्षण महत्त्वपूर्ण बनेको उनी बताउँछन् । यी सवैका कारण १३ औ सागमा नेपाली टोली सफल भएको उनको ठहर छ ।
भौतिक संरचना निर्माणको क्रम, प्रशिक्षकको स्तरमा वृद्धि,प्रशिक्षणमा नियमितता, व्यवस्थित कार्य योजना र प्रतिभावान् खेलाडीको उदय नेपाली पौडीका पछिल्ला दिनका प्रगतिका आधार हुन् । यो प्रगतिको क्रमलाई निरन्तरता दिन सरोकारवाला सबै निकाय, प्रशिक्षक, खेलाडी, अभिभावक र अन्य समुदायको सहयोग निरन्तर रहेमा अबका वर्षमा नेपाली पौडीले अझ माथिल्लो उचाइ पाउनेमा उनी विश्वस्त छन् ।



Comment