एपीएफलाई होंगान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल उपाधि

तेस्रो होङ्गान्जी न्युडायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । आइतबार भएको फाइनल खेलमा एपीएफले न्युडायमण्डलाई ३–० को सोझो सेटमा हरायो ।

जित पछि एपीएफका कोच महेशबहादुर चौधरीले भने हामी न्यु डायमन्डसँग ब्लकले जित्ने हो, पहिलो र दोस्रो सेटमा हाम्रो रणनीति त्यति सफल हुन सकेन । डिफेन्स र रिसिभमा पनि समस्या भयो । तेस्रो सेटमा राम्रो ब्लक गर्न सक्यौँ ।

न्युडायमण्डका कुमार राईले डिफेँस र ब्लकका कारण हार भएको बताउँदै भने हामीले विपक्षको प्लेसिङ बलमा निकै अङ्क गुमायौँ । तीनै सेटमा अग्रता लिए पनि सफलता हात पार्न सकिएन, पटक पटक प्लेसिङ बल उठाउन नसक्नु पराजयको मुख्य करण बन्यो ।

एपिएफले न्युडायमण्डमाथी २५–२०,२५–२३,२५–१८ को सहज जित निकाल्यो । गोङ्गबु नयाँ बसपार्क स्थित ढोरपाटन क्लबको कोर्टमा सम्पन्न फाइनल खेलमा एपीएफकी सरस्वती चौधरी र न्यु डायमन्डकी प्रतिभा मालीले समान २६÷२६ अङ्कको योगदान दिएका थिए ।

प्रतियोगितामा एपीएफकी सरस्वती चौधरीले उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले नगद २१ हजार १ सय १ रुपैयाँ प्राप्त गरिन् । विधातर्फ वेस्ट स्पाइकरको उपाधि न्युडायमण्डकी प्रतिभा मालीले जितिन,वेस्ट सेटर न्युडायमण्डकी अरुणा शाही चुनिदा डायमन्डकै सलिना श्रेष्ठले वेस्ट डिफेन्सको उपाधि हात पारिन् । पुलिसकी कोपिला रानाले वेस्ट क्विईकरको उपाधि जितिन् । सरस्वती चौधरीले वेस्ट सर्भरको उपाधि पनि जितिन् । एपीएफकी हिरा केसी वेस्ट ब्लकर चुनिदा एपीएफकै महेशबहादुर चौधरी वेस्ट कोच भए । बिदागततर्फ उत्कृष्ट भएका सबैले जनही ७ हजार १ सय १ रुपैयाँ हात पारे ।

होङ्गान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजकमा सञ्चालन भएको प्रतियोगिताको उपाधि विजेता एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गर्दा उपविजेता आयोजक न्युडायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँ गर्‍यो । तेस्रो हुन पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैयाँ हात पार्दा चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेतालाई सभासद् कृष्णगोपाल श्रेष्ठ,नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा,मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपालका प्रमुख सोनाम वाङदी भुटिया,आयोजक क्लबकी अध्यक्ष सुन केशरी मालीलगायतले खेलाडीलाई पुरस्कृत गरे । प्रतियोगिता पुस २३ गते देखि सञ्चालन भएको थियो ।

Comment