एपीएफ र न्यु डायमन्ड फाइनलमा

Manoj Shiama
11 January, 2020 10:30 pm

साबिक विजेता विभागीय नेपाल एपीएफ क्लब र उपविजेता तथा आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमन्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
ढोरपाटन क्लबको खेल मैदानमा शनिवार भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई तथा न्यु डायमन्डले विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै लगातार तेस्रो संस्करणको फाइनलमा भिडन्त पक्का गरेको हो । यी दुई टोलीले अघिल्लो दुवै संस्करणमा पनि फाइनल खेल खेलेका थिए । जसमा पहिलो संस्करणमा न्यु डायमन्ड तथा दोस्रो संस्करणमा एपीएफ च्याम्पियन बनेको थियो ।
दिनको पहिलो सेमिफाइनलमा एपीएफले पुलिसमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । एपीएफले पुलिसमाथि २५–१४, २५–१८ र २५–१७ को जित निकाल्यो ।
शनिवारै भएको दोस्रो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि जित निकाल्दै फाइनलमा एपीएफसँगको भेट पक्का ग¥यो । डायमन्ड २५–१७, २५–१६ र २५–११ ले विजयी भयो ।
फाइनल आइतबार दिउँसो १ः३० बजे हुनेछ । त्यसअघि आइतबारै तेस्रो स्थानको लागि पुलिस र आर्मीबिच बिहान ११ः३० बजे प्रतिस्पर्धा हुनेछ ।
होङ्ग्वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैयाँ तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।