एपीएफ र आर्मीको विजयी सुरुआत


तेस्रो होंगान्जी न्यु डायमन्ड कप बुधवारदेखि सुरु भएको छ । पहिलो दिन साबिक विजेता एपीएफ र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।
पहिलो खेल समूह ए अन्तर्गत एपीएफले टप्स उच्च माविलाई तीन शून्यको सोझो सेटमा पराजित गरेको हो । एपीएफले टप्समाथि २५–११ २५–१० २५–६ को सेटमा जित निकालेको हो ।
दोस्रो खेलमा त्रिभुवन आर्मीले प्यारा माउन्ट इङ्लिस स्कुललाई पनि तीन शून्यकै सेटमा हरायो । आर्मीले २५–६ २५–१८ र २५–९ को सेटमा जित निकाल्यो ।
न्यु डायमन्ड र पुलिसको खेल वर्षाले स्थगित
समूह बी अन्तर्गत साबिक उपविजेता होंगान्जी न्यु डायमन्ड र नेपाल पुलिसबिचको उद्घाटन खेल वर्षाका कारण बिचैमा स्थगित गरिएको छ । न्यु डायमन्डले २–१ को अग्रता लिइरहेको समयमा चौथो सेटको मध्यतिर वर्षाले खेल प्रभावित बनेको हो ।
न्यु डायमन्डले सुरुआती २ सेटमा क्रमशः २५–१८ र २५–२२ ले जितेको थियो । तेस्रो सेटमा पुनरागमन गरेको पुलिसले २५–१५ ले सेट जित्यो । चौथो सेटमा पनि पुलिसले २०–१५ को अग्रता बनाएको अवस्थामा रेफ्री विकास गुरुङले खेल स्थगित खेल स्थगित भएको निर्णय गरे । यो खेल अर्को दिन सुरुदेखि नै हुनेछ ।
वर्षाका कारण नभएका दुई खेल न्यु डायमन्ड र पुलिसको तथा नेपाल एपीएफ र प्यारा माउन्ट बोडिंगबीचको खेल २५ गते हुनु छ । पुस २६ गते हुने भनिएको फाइनल पनि अब वर्षाले अवरुद्ध नगरे २७ गते हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन काठमाडौँ क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठले गरेका थिए । उद्घाटन समारोहमा नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, महासचिव जितेन्द्र चन्द, मुख्य प्रायोजक हांगान्जी बौद्ध सोसाइटीका नेपाल प्रमुख सोनम वांगदी भुटिया लगायतको उपस्थिति थियो ।
७ टोली सम्मिलित प्रतियोगिताको विजेताले ४ लाख एक सय १ रुपैयाँ, उपविजेताले ३ लाख एक सय १ रुपैयाँ, तेस्रो हुनेले १ लाख ५१ हजार १ सय १ रुपैयाँ र चौथो हुनेलाई ५१ हजार १ सय १ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैयाँ र बिधातर्फ ७ हजार १ सय १ रुपैयाँ प्राप्त गर्ने छन् ।

Comment