एशियन एमच्योर चेस च्याम्पियनसिप कार्तिक २२ देखि


नेपाल बुद्धिचाल संघको आयोजनमा एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ कार्तिक २२ देखि २९ गते सम्म काठमाडौंमा हुने भएको छ ।
नेपाल बुद्धिचाल संघले पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो । बुढानिलकण्ठस्थित पार्क भिलेजमा आयोजना हुने च्याम्पियनसिपमा एशियाका करिव ३० देशका १ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहने अनुमान गरिएको छ । स्विस लिग प्रणाली अनुसार ९ चरण सम्म संचालन हुने च्याम्पियनसिपमा २१ सय भन्दा कम रेटिङ्ग तथा अधिकतम फिडेमास्टर सम्मको उपाधी प्राप्त खेलाडीले मात्र प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने आयोजकले जनाएका छन् । च्याम्पियनसिपमा प्रत्येक देशबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्न पाउने र त्यसको सुविधा आयोजकले प्रदान गर्ने छ । त्यस देखि बाहेकका खेलाडीहरुले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने तर सुविधा आफैले ब्यहोर्नु पर्ने समेत प्रतियोगिता निर्देशक तथा संघका सचिव धरम लामाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
च्याम्पियनसिपमा नेपालका तर्फबाट सुजना लोहनी र पुरुषोत्तम चौलागाईले आधिकारिक खेलाडीको रुपमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै अन्य खेलाडीहरुले पनि च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । उनीहरुलाई अहिले सम्मको खेल कौशलताको आधारमा च्याम्पियनसिपमा प्रतिस्पर्धा गराईन लागेको समेत लामाले जानकारी गराए ।
कुल १३ हजार ५ सय डलर पुरस्कार राशी रहेको प्रतियोगितामा क्लासिक तथा ब्लिज बिधामा खेला संचालन हुने र विजयी पुरुष खेलाडीले क्यान्डिडेट मास्टर र नगद १५ सय डलर प्राप्त गर्ने छन् भने महिला तर्फ विजयी खेलाडीले ओमेन क्यान्डिडेट मास्टर र नगद ७ सय डलर प्राप्त गर्ने छन् । यस्तै पुरुष तर्फ दोश्रोले १ हजार, तेश्रोले ७ सय ५०, चौथो र पाँचौले ५ सय, छैटौंले ४ सय, सातौले ३५० र आठौं देखि १० औं स्थान सम्मका खेलाडीले ३ सय डलर प्राप्त गर्ने छन् । महिला तर्फ दोश्रो हुनेले नगद ५ सय, तेश्रो, चौथौं र पाँचौ प्रत्येकले नगद ३ सय प्राप्त गर्ने छन् ।
यसै गरि अनरेटेड, यु –८, यु–१०, यु –१२, यु –१४, यु–१६, यु–१८ र यु –२० का पहिलो र दोश्रो हुने खेलाडीहरुले क्रमशः ३ सय र २० सय डलर नगद प्राप्त गर्ने छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी र काठमाण्डौ महानगरपालिकाको सहकार्य रहने च्याम्पियनसिपलाई नेपाली राजनीतिका अगुवा जन नेता मदन भण्डारीको स्मृतीलाई जोडी मदन भण्डारी मेमोरियल एशियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ नामाकरण गरिएको छ ।

Comment