आर्मी र पुलिस विजयी

दुई विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी भएका छन् ।
नयाँ बसपार्कस्थित ढोराटन क्लबको कोर्टमा बुधबार भएको खेलमा आर्मीले एपीएफमाथि ३–१ को सेटमा तथा पुलिसले आयोजक प्रगतिशिल युवा नेपाल क्लबलाई ३–१ को सेटमा जित निकाल्दै वियजी शुरुवात गरेको हो
मंगलबारको लागि तय भएको खेल वर्षाले प्रभावित बनेपछि बुधबार खेलाइएको खेलमा आर्मीले सफलता पाएको हो । प्रतिस्पर्धात्मक पहिलो सेट आर्मीले २५–२० ले आफ्नो पक्षमा पारेको थियो
दोस्रो सेटमा २५–१४ को सहज जित निकाल्दै जिततर्फ अग्रसर बनेको आर्मीले प्रतिस्पर्धात्मक तेस्रो सेट २४–२६ ले गुमाएको थियो । चौथो सेटमा एकसमय ४–१० ले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै २५–२३ को जित निकाल्दै ३–१ को सेटमा जित हात पा¥यो ।
बुधबारै समूह ‘बी’ मा उपाधिको दावेदार नेपाल पुलिस क्लबले आयोजक प्रगतिशिल युवा नेपाल क्लबमाथि ३–१ को सेटमा जित निकाल्यो । पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले त्यसपछिको तीन सेट २५–१७, २५–१८ र २५–१५ को सहज जित निकालयो ।
आर्मीसँग पराजित हुनुअघि एपीएफले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो एपीएफले ढोरपाटनमाथि २५–९, २५–१८ र २५–२३ को सहज जित निकाल्यो ।
गण्डकी प्रदेश र गल्कोट स्पोर्टस् क्लब टोकियो जापानबीचको खेल वर्षाले रद्ध हुन पुग्यो । गण्डकीले शुरुवाती दुई सेट २५–१९ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा पनि गण्डकीले अग्रता लिइरहँदा वर्षा भएपछि खेल सुचारु हुन सकेन । बुधबारकै लागि तय आर्मी र जावलाखेलबीचको खेल पनि हुन सकेन ।
प्रतियोगितामा बिहीबार ५ खेल हुनेछ । बिहीबार जावलाखेल र आर्मी, प्रगतिशिल युवा क्लब र गण्डकी प्रदेश, पुलिस र गल्कोट, एपीएफ र जावलाखेल तथा गण्डकी र गल्कोटबीच खेल हुनेछ ।
प्रगतिशील युवा नेपाल को आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा एपीएफ र आर्मीसँगै ढोरपाटन स्पोट्र्स ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर छन् । समूह ‘बी’ मा आयोजक प्रगतिशील युवा क्लबसँगै नेपाल पुलिस क्लब, गल्कोट युवा क्लब र गण्डकी प्रदेश छन् । दुवै समूहका शीर्ष २ टोली अन्तिम चारमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Comment