आर्चरीको छनोट चरण सम्पन्न


आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न स्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भएका छन् ।
महिला रिकर्भमा आर्मीका ज्ञानु अवाले, आइशा तामाङ र मित्र राई तथा अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूसहित ८ खेलाडीले छनोट चरण पार गरे । उक्त स्पर्धाको पुरुषमा कास्कीका मुकेश तामाङ, आर्मीका रोशन नगरकोटी, कास्कीका अििशम शेरचन, प्रहरीका तिलक पुनसंगै १६ खेलाडीले छनोट चरणमा सफलता पाए ।
पुरुष कम्पाउन्डमा कास्कीका जाग्रित गुरुङ र राजेश राणा, थसाङ स्पोर्ट्स क्लब, काठमाडौंका रमेश भट्टचन र बाँकी २ ले छनोटमा सफलता पाए । पुरुष स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङ, बेस्ट आर्चरी क्लब, काठमाडौंका प्रज्ज्वल ताइ, आर्मीका कमल दानी, अन्नपूर्णका राजकुमार छन्यालसहित ३२ खेलाडी छनोट भए ।
महिला स्ट्यान्डर्डमा अन्नपूर्णकी अर्चना थापा, एपीएफकी सोनुजया राई, अन्नपूर्णकी अनुशा गुरुङ, आर्मीकी मन्जु बजगाईंसहित १६ खेलाडी छनोट भए ।
प्रतियोगितामा ८८ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता आइतबारसम्म चल्नेछ ।

Comment