अत्तरिया र रुपन्देहीको जित

घरेलु टोली धनगढी स्टार्सले रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)को तेस्रो संस्करणमा लगातार दोस्रो हार ब्यहोरेको छ।फाप्ला क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा सिवाइसी अत्तरियासँग रोमाञ्चक खेलमा ५ रनले पराजित हुदैँ धनगढीले दोस्रो हार ब्यहोरेको हो। यसअघि सोमबार भएको पहिलो खेलमा धनगढी काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित भएको थियो।

अत्तरियाले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको धनगढीलाई भुवन कार्कीले धारिलो बलिङ गर्दै धराशायी बनाएका थिए। भुवनले चार ओभरको स्पेलमा १० रनमात्रै खर्चेर ४ विकेट लिएपछि धनगढीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रनमात्रै बनाउन सक्यो। 

त्यसअघि फाप्ला क्रिकेट मैदानमा जारी खेलमा रोहन मुस्तफाले ४ ओभरको स्पेलमा १४ रनमात्रै खर्चेर २ विकेट लिएपछि अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९५ रनमात्रै बनाउन सकेको थियो।

सोही दिन भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै रुपेन्देही च्यालेन्जर्स रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको शीर्ष स्थानमा उक्लिएको छ।फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो विराटनगरले दिएको ९४ रनको लक्ष्य रुपेन्देहीले १३.१ ओभरमा ५ विकेट गुमाएर भेटायो। 

यो रुपेन्देहीको लगातार दोस्रो जित हो। यसअघि सोमबार भएको पहिलो खेलमा रुपेन्देहीले महेन्द्रनगर यूनाटेडलाई २ रनले पराजित गरेको थियो।पुनित मेहराको अलराउण्ड प्रदर्शनको मद्दतमा रुपेन्देहीले दोस्रो जित हात पारेको हो। लक्ष्य पछ्याउने क्रममा पुनिले ४६ रनको आक्रामक पारी खेलेका थिए। २७ बलको सामना गरेका उनले २ चोका र ४ छक्का प्रहार गरेका थिए। यस्तै उसका विदेशी खेलाडी बाबर हायातले १७, भीम सार्कीले १० रन जोडेका थिए। 

त्यसअघि पुनितले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेपछि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रनमात्रै बनाउन सकेको थियो। 

Comment